
कोलकाता, २४ अक्टोबर (हि.स.)। कोलकाता विमानस्थलमा लगातार दोस्रो दिन बमको धम्की प्राप्त भएपछि हड्कम्प मच्चिएको छ। शनिबार फुकेतबाट कोलकाता आइरहेको एउटा विमानको शौचालयमा धम्कीपूर्ण सन्देश भेटिएपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा आएका छन्।
एक वरिष्ठ अधिकारीले बताएअनुसार, विमान अवतरण हुनासाथ त्यसलाई तत्काल आइसोलेसन बे (सुरक्षित क्षेत्र) मा लगियो। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेपछि केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), बम निष्क्रिय पार्ने टोली तथा विमानस्थल पुलिसका जवानहरूले विमानको विस्तृत तलासी लिएका थिए।
यो घटना शुक्रबार यस्तै प्रकारको अर्को धम्की आएको ठीक एक दिनपछि सार्वजनिक भएको हो। शुक्रबार नेताजी सुभाषचन्द्र बोस अन्तरराष्ट्रिय विमानस्थलको शौचालयमा हातले लेखिएको एउटा पर्चा भेटिएको थियो, जसमा एउटा बोर्डिङ गेटमा बम रहेको चेताउनी दिइएको थियो।
विमानस्थलका एक वरिष्ठ अधिकारीले भने, “तलासीका क्रममा कुनै पनि शङ्कास्पद वस्तु फेला परेन। निर्धारित सबै सुरक्षा प्रोटोकलको पालना गर्दै विमानको गहन जाँच गरिएको थियो। उक्त सन्देश केवल त्रास फैलाउने उद्देश्यले लेखिएको हुन सक्ने हाम्रो आशङ्का छ। हामी यस सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौँ।”
अधिकारीका अनुसार, २४ घण्टाभित्र भएका यी दुई घटनालाई ध्यानमा राख्दै विमानस्थल प्रशासनले सुरक्षा व्यवस्थाको निगरानी अझ कडा बनाएको छ। यसैबीच, विधाननगर सिटी पुलिसका एक वरिष्ठ अधिकारीले धम्कीपूर्ण सन्देश लेख्ने व्यक्तिको पहिचान गर्न पुलिसले विमानका यात्रुहरूको सूची र सीसीटीभी फुटेजको जाँच गरिरहेको जानकारी दिएका छन्।
/ बिशाल