
बिश्वनाथ (असम), २४ अक्टोबर (हि.स.)। असमको बिश्वनाथ मेडिकल कलेज तथा अस्पताल चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने भएको छ। राज्यका स्वास्थ्यमन्त्री अशोक सिंघलले शनिबार नवनिर्मित संस्थानको निरीक्षण गर्दै सञ्चालनका लागि भइरहेका तयारीको जायजा लिए। निर्माण कार्य लगभग पूरा भइसकेको छ। यो सञ्चालनमा आएपछि असमको १६औँ मेडिकल कलेज बन्नेछ।
निरीक्षणका क्रममा मन्त्रीले शैक्षिक तथा प्रशासनिक भवन, पुस्तकालय, छात्रछात्राका छात्रावास तथा चिकित्सक र नर्सहरूका आवासलगायत विभिन्न सुविधाको निरीक्षण गरे। उनले सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए।
सिंघलले राज्यमा १० वटा मेडिकल कलेज निर्माणाधीन अवस्थामा रहेको र अन्य चारवटा कलेजको निर्माण कार्य चाँडै शुरु गरिने बताए। नयाँ संस्थानहरूको स्थापनाले चिकित्सा शिक्षाका साथै स्वास्थ्य सेवाहरूलाई थप सुदृढ बनाउने उनले उल्लेख गरे।
यसपछि मन्त्रीले जिल्ला स्वास्थ्य विभागको समीक्षा बैठकमा सहभागी हुँदै मातृ तथा शिशु मृत्युदर घटाउने, उच्च जोखिमयुक्त गर्भावस्थाको पहिचान गर्ने र अस्पतालमा प्रसूति गराउने महिलाको सङ्ख्या बढाउने विषयमा जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल