नेपाल-भारत पर्यटन साझेदारीलाई बढावा दिन 'क्रस बोर्डर टुरिजम कनेक्ट 2026'
नेपाल भारत सीमा नाका बीरगंज


काठमाडौँ, २४ अक्टोबर (हि.स.)। नेपाल र भारतबीच पर्यटन साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले आगामी अक्टोबर २६ देखि २८ सम्म ‘नेपाल-भारत सीमापार पर्यटन सम्पर्क २०२६’ कार्यक्रम आयोजना गरिने भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

कार्यक्रमका संयोजक तथा एनआरएनए आईसीसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमको नारा ‘सीमाहरू जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गरौँ’ रहेको छ।

सापकोटाले भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रचारप्रसार गर्नु, नेपाली तथा भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु र नेपालका पर्यटन गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

उनका अनुसार, भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोडेर देशको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिन्छ।

नेपालमा पर्यटन प्रवर्द्धन गर्न प्रचार सामग्री वितरण गर्नु मात्रै पर्याप्त नहुने बताउँदै उनले भारतीय पर्यटन व्यवसायीलाई नेपालका पर्यटन गन्तव्यको प्रत्यक्ष भ्रमण गराउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेटघाट गराउने, उपलब्ध सेवा तथा सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका लागि आधार तयार गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिले सहभागिता जनाउनेछन्। उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande