
सोनादा, 24 अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग ११० को शून्यदेखि ७७ किलोमिटरसम्मका ठेकेदार समूहका सदस्यहरूले दार्जिलिङका लोकसभा सांसद राजु विष्टसँग औपचारिक भेटघाट गरेका छन्।
भेटघाटका क्रममा संयुक्त कार्य समिति (जोइन्ट एक्सन कमिटी) का प्रमुख संयोजक शरण देवानले सांसद विष्टसमक्ष मागपत्र बुझाए। राष्ट्रिय राजमार्ग पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) अन्तर्गत काम गर्दा स्थानीय ठेकेदारहरूले विभिन्न समस्याको सामना गर्नुपरेको भन्दै राष्ट्रिय राजमार्ग ११० को करिब ७७ किलोमिटर सडकखण्डलाई एनएचआईडीसीएलबाट हटाएर पुनः राष्ट्रिय राजमार्गअन्तर्गत ल्याउन माग गरिएको छ।
सांसद राजु विष्टले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको बताइएको छ। उनले सम्बन्धित विभागीय अधिकारीहरूसँग छलफल गरी उक्त सडकखण्डलाई चाँडै राष्ट्रिय राजमार्गअन्तर्गत हस्तान्तरण गर्ने पहल गर्ने आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक