
काकद्वीप (दक्षिण २४ परगना), २४ अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सुन्दरवनको समग्र विकास गर्ने र गङ्गासागर मेलालाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्ने घोषणा गरेका छन्। यससँगै उनले काकद्वीपलाई छुट्टै जिल्ला बनाउने आश्वासन पनि दिएका छन्।
शनिबार काकद्वीपमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सुन्दरवनको विकासका लागि विभिन्न योजनाबारे जानकारी दिए। उनले मुडिगङ्गा नदीमाथि निर्माण भइरहेको पुलको काम पूरा गरी २०२९ मा उद्घाटन गर्ने लक्ष्यसमेत घोषणा गरे।
मुख्यमन्त्रीले आफ्नो सरकारले सुन्दरवनलाई विकासको मूलधारमा ल्याउन चाहेको बताए। सुन्दरवन विकास विभागका सेवाहरू दुर्गम क्षेत्रसम्म पुर्याउनुका साथै आगामी केही महिनाभित्र व्यापक विकास कार्य सञ्चालन गरिने उनले जानकारी दिए। उनले अघिल्लो सरकारले विकासका लागि विनियोजित रकमको उचित उपयोग नगरेको र व्यापक भ्रष्टाचार भएको आरोप पनि लगाए।
मुडिगङ्गा नदीमाथि निर्माण भइरहेको पुलबारे बोल्दै उनले २०२९ मा यसको उद्घाटन गरिने बताए। अघिल्लो सरकारले पुल निर्माणको वाचा गरे पनि जग्गा अधिग्रहण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेजस्ता आवश्यक काम नगरेको उनले आरोप लगाए।
मुख्यमन्त्रीले जिल्लामा ४ लाख ८१ हजार २४२ नयाँ घर निर्माण गर्ने घोषणा गरे। आवास योजनामा कथित भ्रष्टाचार भएको आरोप लगाउँदै उनले यसअघि गोठलाई घर देखाएरसमेत घर निर्माणका लागि रकम लिइएको दाबी गरे।
स्वास्थ्य सेवाबारे उनले क्षेत्रका बासिन्दालाई आयुष्मान भारत र मुख्यमन्त्री स्वास्थ्य बिमा योजनाको दायरामा ल्याउने बताए। काकद्वीपका शरणार्थी परिवारलाई नागरिकता संशोधन ऐन (सीएए) अन्तर्गतका प्रमाणपत्र चाँडै उपलब्ध गराउन महकुमा शासकलाई निर्देशन दिने जानकारी पनि उनले दिए। लागुऔषध तस्करी र अवैध बिक्री रोक्न प्रशासनलाई सतर्क रहन निर्देशन दिँदै उनले छोरीहरूको विवाह १८ वर्षको उमेर पूरा हुनुअघि नगर्न जनसमुदायलाई आग्रह गरे।
मुख्यमन्त्रीले अम्फान चक्रवातको राहत कोषमा कथित अनियमितता तथा सन् २०२१ को विधानसभा निर्वाचनपछि भएका हिंसासम्बन्धी उजुरी दर्ता गराउन पनि सर्वसाधारणलाई अघि आउन अपिल गरे। काकद्वीपको सूर्यनगरमा माँ कालीको मूर्तिलाई प्रहरीको बन्दीवाहनमा लगिएको विषयमा पनि उनले आफ्नो धारणा राखे।
उनले आगामी १० जनवरीमा गङ्गासागर मेला उद्घाटन गर्न आउने जानकारी दिए। मेलालाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्ने र सुन्दरवनलाई विकासको आदर्श नमुना बनाउने आश्वासन दिँदै उनले काकद्वीपलाई छुट्टै जिल्ला बनाउने योजनाबारे पनि उल्लेख गरे।