
- करिब १०० देखि १५० करोड रुपियाँको लगानीमा स्थापित एकाईबाट एक हजारभन्दा बढीलाई रोजगारी उपलब्ध हुने अपेक्षा
- खेलकुदका पोसाक, सर्ट, टी-सर्ट र भित्री वस्त्र उत्पादन गरिने, निर्यात गर्ने योजना
वाराणसी, २५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो संसदीय क्षेत्र वाराणसीको मिर्जामुरादस्थित खोचवाँमा अरविन्द लिमिटेडको नयाँ पोसाक निर्माण एकाईको उद्घाटन गरेका छन्। यस क्रममा उनले एकाइको निरीक्षण गर्नुका साथै तालिम प्राप्त गरिसकेका र त्यहाँ कार्यरत महिलाहरूसँग प्रत्यक्ष संवाद गरे। प्रधानमन्त्रीले महिलाहरूका अनुभव सुने र उनीहरूको काम तथा तालिमसम्बन्धी जानकारी लिए।
यसअघि प्रधानमन्त्रीको विशेष हेलिकप्टर खोचवाँ पुगेको थियो। त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, अन्य विशिष्ट अतिथि तथा अरविन्द लिमिटेडका पदाधिकारीहरूले उनको स्वागत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले औद्योगिक एकाइको निरीक्षण गरी त्यहाँ उपलब्ध उत्पादन सुविधा र कार्यप्रणालीबारे जानकारी लिए।
अरविन्द लिमिटेडको यस औद्योगिक एकाइमा करिब १०० देखि १५० करोड रुपियाँ लगानी गरिएको छ। यहाँ खेलकुदका पोसाक, भित्री वस्त्र, सर्ट र टी-शर्टसहित विभिन्न प्रकारका कपडाहरू उत्पादन गरिनेछ। एकाइमा उत्पादित वस्तुहरू निर्यात गर्ने योजना पनि रहेको छ।
यस परियोजनाबाट एक हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। यसमा ठूलो सङ्ख्यामा स्थानीय महिलाहरू सहभागी हुने सम्भावना छ। महिलाहरूलाई रोजगारीका लागि तयार पार्ने उद्देश्यले उनीहरूलाई पहिलेदेखि नै तालिमसमेत प्रदान गरिँदै आएको छ।
परियोजनाअन्तर्गत उत्पादन गतिविधि विस्तार गर्नाका साथै स्थानीय स्तरमा सीप विकास र महिला रोजगारीलाई विशेष प्राथमिकता दिइएको छ। यसलाई उत्तर प्रदेशमा औद्योगिक लगानी प्रोत्साहित गर्ने तथा उत्पादनमा आधारित आर्थिक गतिविधिलाई बढावा दिने दिशामा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
उद्घाटनका क्रममा प्रधानमन्त्रीले औद्योगिक एकाइमा तालिम प्राप्त गरिसकेका तथा कार्यरत महिलाहरूसँग कुराकानी गरे। उनले महिलाहरूसँग तालिम, कामकाज र रोजगारीसँग सम्बन्धित उनीहरूका अनुभवबारे जानकारी लिए।
यस एकाइमार्फत स्थानीय महिलाहरूलाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराउन जोड दिइएको छ। यसबाट महिलाहरूको आर्थिक आत्मनिर्भरता बढ्नुका साथै क्षेत्रमा वस्त्र उद्योगसँग सम्बन्धित गतिविधिहरू विस्तार हुने अपेक्षा गरिएको छ।
वाराणसी पुग्नुअघि सामाजिक सञ्जालमार्फत कार्यक्रमको जानकारी
प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी पुग्नुअघि सामाजिक सञ्जालमार्फत आइतबारका आफ्ना कार्यक्रमहरूबारे जानकारी साझा गरेका थिए। उनले उत्तर प्रदेश र ओडिशामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताएका थिए।
आफ्नो सन्देशमा प्रधानमन्त्रीले वाराणसीमा अरविन्द लिमिटेडको पोसाक निर्माण एकाइ उद्घाटन गर्ने उल्लेख गर्दै यसबाट वस्त्र क्षेत्र सुदृढ हुनुका साथै विशेषगरी महिला सशक्तीकरणलाई प्रोत्साहन मिल्ने बताएका थिए।
उनले वाराणसीमा ‘एयर फोर्स डे एरियल डिस्प्ले-२०२६’ अवलोकन गर्ने तथा ओडिशाको राजधानी भुवनेश्वरमा भारतीय रिजर्भ बैङ्कको तथ्याङ्क केन्द्र र साइबर सुरक्षा प्रशिक्षण संस्थानको उद्घाटन कार्यक्रममा सहभागी हुने जानकारीसमेत दिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी