
गान्तोक, 29 अक्टूबर (हि.स.)।तीनदिने सिक्किम कला तथा साहित्य महोत्सव २०२६ को दोस्रो दिनको कार्यक्रम बिहीबार बिहान सङ्गीत सत्रबाट शुरु भयो। यस अवसरमा प्रख्यात सङ्गीतकारद्वय कार्तिकेय वशिष्ठ र मकरन्द साननले 'बाँसुरी र तालहरूमार्फत एक रहस्यमय यात्रा' शीर्षकमा विशेष प्रस्तुति दिए। भारतीय शास्त्रीय, लोक तथा विश्व सङ्गीतलाई वाद्ययन्त्रमार्फत संयोजन गर्न ख्यातिप्राप्त उनीहरूले बाँसुरी, अलगोजा, मुर्चुङ्गा, काजोन, कञ्जिरा, दरबुका, जेम्बे, फ्लोर टम तथा अन्य तालवाद्य प्रयोग गरी दर्शकलाई मन्त्रमुग्ध बनाए।
यसपछि स्कटल्यान्डका इतिहासकार विलियम डेलरिम्पलले आफ्नो पुस्तक ‘द गोल्डेन रोड’ माथि प्रस्तुतीकरण दिए। यसैगरी, सिक्किमका प्रख्यात लेखक प्रज्वल पराजुलीले पुस्तकको संक्षिप्त परिचय प्रस्तुत गरेपछि शुरु भएको सत्रमा डेलरिम्पलले विश्व व्यापार तथा ज्ञान, धर्म र संस्कृतिको प्रसारमा भारतको ऐतिहासिक भूमिकाबारे प्रकाश पारे। उनले एसियाभरि बौद्ध धर्मको विस्तार, प्राचीन भारत र रोमबीचको समुद्री व्यापार, नालन्दा विश्वविद्यालयको महत्त्व तथा गणितमा शून्य र बीजगणितको योगदानबारे चर्चा गरे। यी उपलब्धिहरूले आधुनिक गणित, डिजिटल प्रविधि र गणनात्मक विधिहरूको विकासमा समेत प्रभाव पारेको उनले उल्लेख गरे।
त्यसपछि ‘ए नेचुरल डिस्पोजिसनः अ लाइफ इन स्टोरिज’ शीर्षकमा प्यानल छलफल आयोजना गरियो। सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य सङ्कायकी प्राध्यापक एवं डीन डा. रोजी चामलिङले सञ्चालन गरेको छलफलमा प्रख्यात लेखक ध्रुव हजारिका, मामाङ दाई र चेतन राज श्रेष्ठ सहभागी बने। छलफलमा पूर्वोत्तर भारतको पहिचान, साहित्यिक परम्परा, सांस्कृतिक विविधता तथा लोककथाको महत्त्वमाथि विचार आदानप्रदान गरियो। वक्ताहरूले साहित्यले समुदायका जीवन्त अनुभव, सांस्कृतिक मूल्य र ऐतिहासिक कथाहरूलाई संरक्षण गर्दै विभिन्न समुदायका आवाजलाई व्यापक समाजसम्म पुर्याउने भूमिका निर्वाह गर्ने बताए।
यसैबीच, ह्वाइट हलमा ‘इन अदर वर्ड्सः एक्रस ल्याङ्ग्वेजेज’ शीर्षकको पहिलो सत्र सम्पन्न भयो। यसमा कवि, सांस्कृतिक चिन्तक तथा अनुवादक रञ्जित होस्कोटे र लेखिका सन्ध्या सुब्बाले अरुन्धती नाथसँग संवाद गरे। छलफलमा कोंकणी, हिन्दी लगायत भारतीय भाषाहरूबीच कथा, कविता र सांस्कृतिक स्मृतिको आदानप्रदानमा अनुवादको भूमिकामाथि प्रकाश पारियो। होस्कोटेले आफ्नो बहुभाषिक पृष्ठभूमि तथा चौधौँ शताब्दीकी कश्मीरी रहस्यवादी कवयित्री लाल देदलगायतका कविहरूका रचनाको अनुवादसम्बन्धी अनुभव साझा गरे।
त्यसपछि ‘टाइनी टेल्स, टल स्टोरिज’ शीर्षकमा अनुराधा शर्मा र चार्मी छेडाले पुनीता रोयसँग संवाद गरे। सत्रमा छोटा कथाहरूले भावना, स्मृति र सांस्कृतिक सूक्ष्मतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमताबारे चर्चा गरियो। समकालीन भारतीय आख्यान साहित्यमा महिला लेखकहरूको योगदान तथा उनीहरूका व्यक्तिगत अनुभवमा आधारित कथाहरूको महत्त्वलाई समेत उजागर गरियो।बिहानका यी सत्रहरूमा राज्यका विधायकहरू, सल्लाहकारहरू, विभिन्न बोर्डका अध्यक्षहरू, सचिवहरू, विभागीय प्रमुखहरू, सरकारी अधिकारीहरू, विद्यार्थीहरू, विद्यालयका शिक्षकहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल