जनगणनाको दोस्रो चरणका लागि गान्तोकमा जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
जनगणनाको दोस्रो चरणका लागि गान्तोकमा जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


गान्तोक, ३१ अक्टोबर (हि.स.)। आगामी जनगणनाको दोस्रो चरण अर्थात् जनसङ्ख्या गणनाका लागि जिल्ला तथा अतिरिक्त गणना अधिकारीहरूलाई लक्षित गरी एकदिने जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम बिहीबार गान्तोकस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सम्पन्न भयो।

जिल्लापाल तथा प्रमुख जनगणना अधिकारी अगवाने रोहन रमेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिक्किम जनगणना सञ्चालन निर्देशनालयका निर्देशक कर्मा आर. बोन्पो, अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटियालगायत गान्तोक जिल्लाका गणना अधिकारी, प्राविधिक तथा क्षेत्रीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक कर्मा आर. बोन्पोले जनगणना ऐनअन्तर्गतका कानुनी दायित्वबारे जानकारी गराए। उनले जनगणनालाई सफल बनाउन प्रत्येक क्षेत्रका नागरिकलाई समेट्ने, निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने तथा तथ्याङ्कको विश्वसनीयता कायम राख्ने विषयमा विशेष जोड दिए। साथै, सबै गणना अधिकारीलाई आ-आफ्नो क्षेत्रमा प्रभावकारी अनुगमन गर्दै शुद्ध रूपमा जनसङ्ख्या गणना सुनिश्चित गर्न आह्वान गरे।

जिल्लापाल रमेशले जनसङ्ख्यासम्बन्धी तथ्याङ्क सामाजिक तथा आर्थिक योजना निर्माण र सरकारी नीतिहरूको प्रभावकारी कार्यान्वयनको आधार रहेको बताए। उनले ग्रामीण तथा शहरी क्षेत्रका सबै प्रशासनिक एकाइलाई आपसी समन्वय कायम राख्न, स्थानीयस्तरका समस्याको शीघ्र समाधान गर्न तथा गणनाका क्रममा कोही पनि नछुट्ने गरी काम गर्न निर्देशन दिए।

यस अवसरमा सिक्किम जनगणना सञ्चालन निर्देशनालयका तथ्याङ्क अन्वेषक (ग्रेड १) विमलेश कुमारले गणना क्षेत्र निर्धारण, अनुगमन प्रणाली तथा डिजिटल तथ्याङ्क प्रमाणीकरण प्रक्रियाबारे व्यावहारिक प्राविधिक प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल गरिएको थियो। छलफलमा गणना क्षेत्रको सीमाङ्कन तथा कार्य सञ्चालनसम्बन्धी प्रक्रियाबारे स्पष्ट पार्दै गान्तोक जिल्लाभरि जनगणनाको दोस्रो चरणलाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा जोड दिइयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande