
कोलकाता, 06अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार बिहान सोशल मिडियाको माध्यमबाट विश्व प्रसिद्ध खगोलशास्त्री डा. मेघनाद साहालाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। उनले डा. साहाको वैज्ञानिक योगदानलाई स्मरण गर्दै उनीप्रति सम्मान व्यक्त गरे।
डा. मेघनाद साहाको जन्म 6 अक्टोबर, 1893 मा तत्कालीन ढाका नजिकैको शिओरताली गाउँमा भएको थियो। उनी भारतका प्रख्यात भौतिकशास्त्री एवं खगोलशास्त्री थिए। ताराहरूको भौतिक र रासायनिक अवस्था बुझ्नका लागि महत्त्वपूर्ण मानिने 'साहा समीकरण' को प्रतिपादन गरेर उनले विश्वभरि आफ्नो पहिचान स्थापित गरे।
डा. साहाले ढाका कलेजिएट तथा ढाका कलेजबाट शिक्षा प्राप्त गरेपछि कोलकाताको प्रेसिडेन्सी कलेजम अध्ययन गरे। पछि उनी इलाहाबाद विश्वविद्यालयमा प्राध्यापक भए भने आफ्नो जीवनको अन्तिम समयसम्म उनी विज्ञान सङ्काय, कलकत्ता विश्वविद्यालयमा प्राध्यापक एवं डिनको रूपमा सेवारत् रहे। उनलाई वर्ष 1927- मा रोयल सोसाइटीको फेलो चुनिएको थियो।
उनले देशको वैज्ञानिक विकासमा पनि महत्त्वपूर्ण योगदान दिए। उनले साहा इन्स्टिच्युट अफ न्युक्लियर फिजिक्स तथा इण्डियन एसोसिएसन फर द कल्टिभेशन अफ साइन्स जस्ता महत्त्वपूर्ण वैज्ञानिक संस्थाहरूको स्थापनामा भूमिका निर्वाह गरे। उनको अध्यक्षतामा गठित समितिले भारतको राष्ट्रिय शक पञ्चाङ्गलाई संशोधन गर्ने कार्य पनि गऱ्यो।
स्वतन्त्रता आन्दोलन कालमा पनि डा. साहा सक्रिय थिए। बङ्गाल विभाजनको विरोधमा उनले आफ्नो विद्यार्थी जीवनमा ब्रिटिश अधिकारीहरूको बहिष्कारमा भाग लिए। उनको सम्पर्क स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित धेरै प्रमुख नेताहरू र सङ्गठनहरूसँग पनि रहेको थियो।
डा. मेघनाद साहाको मृत्यु 16 फरवरी, 1956 मा नयाँ दिल्लीमा भएको थियो। वैज्ञानिक क्षेत्रमा उनको योगदानलाई आज पनि देश-दुनियाँ सम्मानका साथ स्मरण गरिन्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा