साइबर सुरक्षाबारे विद्यार्थीमा सचेतना बढाउन ‘साइबर सखी’ अभियान शुरु
साइबर सखी अभियानको शुरुवात


गान्तोक, 07 अक्टोबर (हि.स.)। राज्यभरि सुरक्षित अनलाइन वातावरण निर्माण गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदमका रूपमा नरबहादुर भण्डारी सरकारी कलेजले ‘साइबर सखी - साइबर सुरक्षित सिक्किम’ अभियानको उद्घाटन समारोह आयोजना गरेको छ। यो पहल ‘रेस्पोन्सिबल नेटिज्म’ (आहान फाउण्डेशन) र यसको कार्यान्वयन साझेदार ‘क्याटालिटिक एजुकेशनल फाउण्डेशन’ (जसको स्थापना र नेतृत्व कुञ्जाङ छोकी भोटियाले गरेकी हुन्) द्वारा सिक्किम सरकारको विद्यार्थी कल्याण बोर्डको सहयोगमा सञ्चालन गरिएको हो।

यही क्रमलाई निरन्तरता दिँदै आगामी तीन दिनभित्र डाइट कलेज बुर्तुक, सरकारी विधि कलेज बुर्तुक र बुर्तुक सरकारी कलेजमा पनि यस्तै अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गर्ने योजना रहेको छ। यी प्रयासहरूको उद्देश्य 200 भन्दा बढ़ी ‘साइबर सुरक्षा राजदूत’ हरूलाई प्रशिक्षित र प्रेरित गर्नु हो, जसले आफ्ना क्याम्पस र समुदायहरूमा डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउन नेतृत्व गर्नेछन्।

कार्यक्रममा सिक्किम सरकारको विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यति सान्दर्भिक विषयमा काम गरेकोमा टोलीको प्रशंसा गर्दै उनले आजका युवाहरूका लागि डिजिटल साक्षरता र जिम्मेवार अनलाइन बानी कति महत्त्वपूर्ण छ भन्ने विषयमा जोड़ दिए।

सहभागीहरूलाई स्वागत गर्दै नरबहादुर भण्डारी सरकारी कलेजका प्रधानाध्यापक डा. डी पुरोहितले डिजिटल सुरक्षालाई समर्थन गर्न शैक्षिक संस्थाहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड़ दिए। उद्घाटन समारोहमा संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्मा तथा विद्यार्थी कल्याण बोर्डका सदस्य डा. सावित्री मुखिया र नरेश छेत्रीलगायत विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

केसीएफ टोलीको नेतृत्वमा सञ्चालित यस अभियानले विद्यार्थीहरूलाई आत्मविश्वास र सावधानीका साथ डिजिटल संसारमा अघि बढ्न व्यावहारिक उपायहरू प्रदान गर्दछ। वक्ताहरूले विद्यार्थीहरूलाई अनलाइनमा सुरक्षित रहनु अब एउटा विकल्प मात्र नभएर आवश्यकता पनि रहेको साथै उनीहरूलाई आफ्ना कलेज, घर र समुदायभित्र साइबर सुरक्षाका अभियन्ताका रूपमा अघि आउन प्रोत्साहित गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande