
एन्टाल्या (टर्की), १७ नोभेम्बर (हि.स.)। केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले बिग क्याटको संरक्षण जलवायु परिवर्तन न्यूनीकरण तथा पारिस्थितिक प्रणालीको सुदृढीकरणका लागि प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन्। भारतको बाघ संरक्षण मडलको उदाहरण दिँदै उनले वन्यजन्तुको सुरक्षाले कार्बन भण्डार, जलवायु अनुकूलन क्षमता तथा स्थानीय समुदायको जीविकोपार्जनलाई मजबुत बनाउने उल्लेख गरेका छन्।
केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका अनुसार, यादवले टर्कीको एन्टाल्यामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कप-३१) अन्तर्गत आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कार्यक्रम ‘बिग क्याट्स: ड्राइभर्स अफ क्लाइमेट चेन्ज मिटिगेसन’ मा सहभागिता जनाएका थिए। मन्त्रालय र अन्तरराष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल, भेनेजुएला, कम्बोडिया र श्रीलङ्कासहित बिग क्याटको प्राकृतिक वासस्थान रहेका देशका मन्त्री तथा प्रतिनिधिहरू सहभागी थिए। रामसार कन्भेन्शन र संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण रोकथाम महासन्धि (यूएनसीसीडी) का प्रतिनिधिहरूले पनि कार्यक्रममा भाग लिएका थिए।
कार्यक्रममा बिग क्याटका सात प्रमुख प्रजाति तथा तिनका प्राकृतिक वासस्थानको संरक्षणले जलवायु परिवर्तन न्यूनीकरण, पारिस्थितिक प्रणालीको सुदृढीकरण र दिगो विकासमा पुर्याउने योगदानबारे छलफल गरिएको थियो। आईबीसीएका महानिर्देशक एसपी यादवले गठबन्धन तथा सदस्य राष्ट्रहरूमा बिग क्याटको अवस्थाबारे प्रस्तुति दिएका थिए। सहभागीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अघि बढाएका संरक्षण प्रयास, विशेषगरी चितुवाको पुनर्स्थापना कार्यक्रमको प्रशंसा गरेका थिए।
केन्द्रिय मन्त्री यादवले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनामा स्थापना भएको अन्तरराष्ट्रिय बिग क्याट एलायन्स विश्वस्तरमा ठूला बिरालो प्रजातिको संरक्षणलाई अघि बढाउने साझा मञ्च भएको बताए। यसले भारतको सफल संरक्षण नमुना साझा गर्न, ज्ञान आदानप्रदान गर्न, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न तथा सातवटै प्रजातिको संरक्षणका लागि क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने उनको भनाइ थियो।
उनले भारतको बाघ संरक्षणसम्बन्धी अनुभवले राजनीतिक प्रतिबद्धता, सुदृढ संस्थागत व्यवस्था, निरन्तर लगानी तथा समुदायको सहभागिताबाट वन्यजन्तु संरक्षणलाई पारिस्थितिक सुरक्षा, जलवायु अनुकूलन र दिगो विकासको माध्यम बनाउन सकिने प्रमाणित गरेको बताए।
यादवले बिग क्याटले प्रत्यक्ष रूपमा कार्बन अवशोषण नगर्ने भए पनि तिनको संरक्षणले ठूलो मात्रामा कार्बन भण्डार रहेका वन, घाँसेमैदान, सिमसार तथा पर्वतीय पारिस्थितिक प्रणालीको रक्षा गर्ने बताए। यसबाट प्राकृतिक वासस्थानको क्षयीकरणका कारण हुने उत्सर्जन रोक्न तथा जलवायु अनुकूलन क्षमता बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे।
उनका अनुसार, बिग क्याट यस्ता प्रमुख प्रजाति हुन्, जसको संरक्षणले समग्र पारिस्थितिक प्रणालीको सुरक्षालाई प्रोत्साहन गर्छ। यसबाट हजारौँ अन्य प्रजाति तथा ती क्षेत्रमा निर्भर समुदायसमेत लाभान्वित हुन्छन्।
मन्त्री यादवले भारतका ५८ वटा बाघ आरक्ष करिब ८५ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको जानकारी दिए। यी आरक्षले विशाल वन क्षेत्र तथा त्यहाँ सञ्चित कार्बनको संरक्षण गरिरहेका छन्। यसबाट कार्बन अवशोषण, पानी शुद्धीकरण, माटो संरक्षण तथा भूमिगत जल पुनर्भरणजस्ता महत्त्वपूर्ण पारिस्थितिक सेवाहरू प्राप्त भइरहेका छन्। यी क्षेत्रबाट ६०० भन्दा बढी नदीको उद्गम हुने वा ती नदीहरू बग्ने गरेको उनले बताए। समुदायको सहभागिता, पारिस्थितिक विकास तथा दिगो जीविकोपार्जनसँग सम्बन्धित पहलहरूले बाघ संरक्षणलाई समावेशी र दिगो बनाएको उनको भनाइ थियो।
यादवले भारतमा बाघ संरक्षणको सफलताको श्रेय निरन्तर राजनीतिक प्रतिबद्धता, सुदृढ कानुन तथा संस्थागत व्यवस्थालाई दिएका छन्। वन्यजन्तु संरक्षण अधिनियम, १९७२ र राष्ट्रिय बाघ संरक्षण प्राधिकरणको वैधानिक संरचनाको सहयोगमा सञ्चालित ‘प्रोजेक्ट टाइगर’ योजनाले संरक्षणका लागि बलियो व्यवस्था तयार गरेको उनले बताए।
उनका अनुसार, २०२२ सालमा भारतमा बाघको सङ्ख्या बढेर ३ हजार ६८२ पुगेको थियो, जुन विश्वका कुल जङ्गली बाघको ७० प्रतिशतभन्दा बढी हो।
उनले यस उपलब्धिमा केन्द्र तथा राज्य सरकारको निरन्तर बजेट विनियोजन, वन विभागका अग्रपङ्क्तिका कर्मचारी, प्रविधिमा आधारित निगरानी, वैज्ञानिक व्यवस्थापन तथा समुदायको सहभागिताको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘प्रोजेक्ट टाइगर’ मार्फत प्रत्येक वर्ष करिब ६० लाख मानव-दिवस बराबरको रोजगारीका अवसरसमेत सिर्जना हुने गरेको छ। यसले बाघ संरक्षणलाई हरित रोजगारी तथा स्थानीय समुदायको जीविकोपार्जन सुरक्षाको महत्त्वपूर्ण माध्यम बनाएको उनले उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी