
नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भारत र आसियानबीचको साझेदारी साझा संस्कृति तथा विरासतमा मात्र सीमित नरही अहिले डिजिटल, रक्षा र अन्तरिक्ष जस्ता क्षेत्रमा नयाँ आयाम हासिल गरिरहेको बताएका छन्। उनले भारत र आसियानले मिलेर विश्वको लगभग एक चौथाइ जनसङ्ख्याको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यस क्षेत्रको भविष्य प्रतिस्पर्धाभन्दा सहकार्यका आधारमा तय हुने सुनिश्चित गर्नु आवश्यक रहेको बताए।
फिलिपिन्सको राजधानी मनिलामा २३औँ आसियान-भारत शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विगतका वर्षहरूमा भारतको ‘एक्ट इस्ट नीति’ ले भारत–आसियान सम्बन्धलाई नयाँ गति र गहिराइ प्रदान गरेको बताए। उनले आसियानको सफल अध्यक्षता गर्नुका साथै भारतको देश समन्वयकका रूपमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा फिलिपिन्सका राष्ट्रपति मार्कोसप्रति बधाई तथा आभार व्यक्त गरे।
प्रधानमन्त्रीले आसियान नेताहरूसँग यस प्रारूपमा आफ्नो यो १३औँ संवाद रहेको बताए। साल २०१४ देखि हालसम्म जनस्तरको सम्पर्क सुदृढ़ बनाउन १०० भन्दा बढ़ी पहल गरिएको, लगभग २५० वटा शीघ्र प्रभाव पार्ने परियोजना शुरु गरिएको तथा सीप विकासका लागि १० हजारभन्दा बढ़ी छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए। भारत र आसियानका नौ देशबीच प्रत्यक्ष हवाई सेवा तथा पर्यटनमा भएको वृद्धिले पनि दुवै पक्षबीच बढ्दो निकटतालाई प्रमाणित गर्ने उनले बताए।
मोदीले विगत केही वर्षमा विश्वले एकपछि अर्को सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै यस्तो समयमा विश्वलाई सबैभन्दा बढ़ी शान्ति, स्थिरता र पूर्वानुमानयोग्य वातावरणको आवश्यकता रहेको बताए। यस सन्दर्भमा यस वर्षको शिखर सम्मेलनको विषयवस्तु ‘नेभिगेटिङ आवर फ्युचर, टुगेदर’ (मिलेर आफ्नो भविष्यको मार्ग तय गर्ने) विशेष महत्त्वपूर्ण रहेको उनले बताए। भारत र आसियानसँग यस क्षेत्रलाई शान्ति तथा स्थिरताको प्रतीक बनाउने क्षमता र सङ्कल्प दुवै रहेको उल्लेख गर्दै प्रतिस्पर्धाभन्दा सहकार्यमा आधारित भविष्य सुनिश्चित गर्न दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्रीले यस वर्ष आसियान देशहरूको यो आफ्नो तेस्रो भ्रमण रहेको उल्लेख गर्दै यसले भारतका लागि उक्त सङ्गठनको विशेष महत्त्व दर्शाउने बताए। भारतको विकास र आसियानको समृद्धि एकअर्कासँग गहिरो रूपमा जोडिएको भारतको विश्वास रहेको उनले बताए। आगामी वर्षहरूमा आसियान समुदायको दृष्टि-२०४५ र विकसित भारत-२०४७ दुवै पक्षका साझा आकाङ्क्षा साकार पार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले उल्लेख गरे।
मोदीले विगत १२ वर्षमा भारत र आसियानले आफ्नो साझेदारीलाई नयाँ गति प्रदान गरेको बताउँदै अब मिलेर यस क्षेत्रको भविष्यलाई नयाँ दिशा दिने समय आएको उल्लेख गरे। यस साझेदारीमा आसियानको एकता र केन्द्रिय भूमिकाप्रति भारतको प्रतिबद्धता अटल रहेको र भविष्यमा पनि कायम रहने उनले स्पष्ट पारे।
शिखर सम्मेलनले भारत-आसियान व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइ प्रदान गर्नुका साथै सुरक्षित, समावेशी र समृद्ध हिन्द-प्रशान्त क्षेत्र निर्माणमा योगदान पुर्याउने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे। उनले बैठकमा सहभागी सबै नेताका विचार तथा सुझाव सुन्न आफू उत्सुक रहेको पनि बताए।
हिन्दुस्थान समाचार / भवानी थामी