भारतबाट कुनै पनि फरार व्यक्तिको फिर्ती हिंसाबाट होइन, प्रत्यर्पण सन्धिबाट मात्रै सम्भव: बङ्गलादेशी मन्त्री कोबिर
बांग्लादेश के विदेश राज्य मंत्री हुमायूं कोबीर (फाइल फाेटाे)


ढाका, २१ नोभेम्बर (हि.स.)। बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुँ कोबिरले भारतबाट फरार व्यक्तिहरूलाई फिर्ता ल्याउने प्रयास हिंसा वा पेट्रोल बम आक्रमणबाट सम्भव नहुने बताएका छन्। उनले भारतबाट कुनै पनि फरार व्यक्तिको फिर्ती प्रत्यर्पण सन्धिअन्तर्गत कानुनी प्रक्रियाबाट मात्रै सम्भव हुने स्पष्ट पारेका छन्।

बङ्गलादेशको अङ्ग्रेजी दैनिक पत्रिका ‘द डेली स्टार’ का अनुसार, विदेश मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै कोबिरले दिल्लीमा रहेका फरार व्यक्तिलाई पेट्रोल बम प्रहार वा हिंसात्मक गतिविधिबाट फिर्ता ल्याउन नसकिने बताए। त्यसका लागि कानुनी प्रक्रिया र प्रत्यर्पण सन्धिको पालना गर्नुपर्ने उनको भनाइ थियो।

कोबिरले अवामी लिगलाई आतङ्कवादी सङ्गठनको संज्ञा दिँदै पार्टीका नेताहरू हिंसा भड्काउन संलग्न रहेको आरोप लगाए। उनले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइनुको प्रमुख कारण आतङ्कवादसँग सम्बन्धित आरोप रहेको बताए।

उनले अवामी लिगका केही नेताहरू विदेशमा बसेर पनि बङ्गलादेशमा हिंसा फैलाउने प्रयास गरिरहेको दाबी गरे। उनले पेट्रोल बम आक्रमण, आगजनी तथा अन्य हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिए।

देशमा लगातार भइरहेका हिंसात्मक घटनाले अन्तरराष्ट्रिय स्तरमा बङ्गलादेशको छविमा असर परेको छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नमा उनले यस्तो चिन्ता अस्वीकार गरे। हिंसामा संलग्न व्यक्तिहरूलाई सजाय दिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। ‘जय बङ्गला’ नाराको उल्लेख गर्दै उनले अब यो भाग्नेहरूको नारा बनेको टिप्पणी गरे।

हालैका घटनालाई छिटपुट आतङ्कवादी गतिविधिको संज्ञा दिँदै कोबिरले पेट्रोल बम आक्रमण र आगजनीबाट सर्वसाधारणलाई डराउन नसकिने बताए। देशका जनता यस्ता कायर आतङ्कवादीसँग नडराउने उल्लेख गर्दै उनले कानुन-व्यवस्था कायम राख्न र हिंसामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande