
काठमाडौँ, २१ नोभेम्बर (हि.स.)। नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको २२ नोभेम्बरदेखि शुरु हुने भारत भ्रमणको सफलता तथा उपलब्धिका लागि शुभकामना व्यक्त गरेको छ। साथै, भारत भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दललगायत अन्य राजनीतिक दलसँग परामर्श नगरेको भन्दै सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको आरोप लगाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रहरूको महत्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलसँग परामर्श गर्नु नेपालको स्थापित लोकतान्त्रिक परम्परा रहेको बताएका छन्।
उनले भारतसँगको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका सम्भावनासम्बन्धी विषयमा सरकारलाई रचनात्मक सुझाउ दिने तयारी पार्टीले गरेको भए पनि सरकारले प्रमुख प्रतिपक्षी, अन्य राजनीतिक दल तथा विषयविज्ञहरूसँग परामर्श गर्न आवश्यक नठानेको उल्लेख गरेका छन्। त्यसैले सरकारले नमागेको औपचारिक सुझाउ आफैँले दिनु उचित नठानेको उनले बताएका छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण तत्कालीन लोकप्रियता हासिल गर्ने वा प्रचारमा सीमित नहुने अपेक्षा पनि व्यक्त गरेको छ।
पार्टीले सरकारसँग विभिन्न विषयमा मतभेद रहे पनि नेपालको राष्ट्रिय हित तथा भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्रीप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट र अडिग रहेको जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल