राज्यपाल गौतमले ‘हरित विकसित सिक्किम किसान मेला २०२६’ तथा अन्तरराष्ट्रिय सङ्गोष्ठीको उद्घाटन गरे
राज्यपाल गौतमले ‘हरित विकसित सिक्किम किसान मेला २०२६’ तथा अन्तरराष्ट्रिय सङ्गोष्ठीको उद्घाटन गरे


गान्तोक, 26 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज गान्तोकस्थित मनन केन्द्रमा ‘हरित विकसित सिक्किम किसान मेला २०२६’ तथा ‘नवाचार, लचिलोपन र उद्यमशीलतामार्फत पर्वतीय कृषि-खाद्य प्रणालीको रूपान्तरण’ विषयमा आयोजित अन्तरराष्ट्रिय सङ्गोष्ठीको उद्घाटन गरे।

भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गत उत्तरपूर्वी पर्वतीय क्षेत्र अनुसन्धान परिसरको सिक्किम केन्द्र, तादोङले इन्डियन एसोसिएसन अफ हिल फार्मिङ, आईसीएआर-आईआईओआर (हैदराबाद) तथा आईसीएआर-आईआईएमआर (हैदराबाद) को सहकार्यमा आयोजना गरेको यस कार्यक्रमको मुख्य विषय २०४७ सम्म विकसित भारत निर्माणका लागि जैविक खेती तथा सिक्किमलाई दिगो र जलवायु अनुकूल कृषिको विश्वव्यापी केन्द्रका रूपमा विकास गर्नु रहेको छ।

कार्यक्रमको पहिलो चरणमा राज्यपालले किसान मेलाको उद्घाटन गर्दै राष्ट्रिय बागवानी बोर्ड, कृषि तथा बागवानी विभाग, कृषि विज्ञान केन्द्र, स्वयं सहायता समूह, किसान तथा बुनकरहरूले स्थापना गरेका विभिन्न प्रदर्शनी कक्षहरूको अवलोकन गरे। यस क्रममा उनले स्थानीय महिला किसान तथा उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै उनीहरूद्वारा उत्पादित जैविक सामग्री खरिद गरे। डिजिटल भुक्तानीमार्फत उनले ग्रामीण क्षेत्रलाई डिजिटल इन्डियासँग जोड्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सन्देश पनि दिए।

‘फार्म टु टेबल’ अवधारणालाई प्रोत्साहित गर्दै राज्यपालले स्थानीय उत्पादन, आर्थिक आत्मनिर्भरता र डिजिटल प्रविधिबीचको समन्वय विकसित भारत @२०४७ को लक्ष्य हासिल गर्न महत्त्वपूर्ण रहेको बताए। यसै क्रममा आईसीएआर-आईआईएमआरको उत्तरपूर्वी क्षेत्र विकास योजनाअन्तर्गत सिरवानी र जङ्गूका किसान समुदायलाई कृषि उपकरणहरू वितरण गरियो।

कार्यक्रमको दोस्रो चरणमा संविधान दिवसको अवसरमा राज्यपालले भारतीय संविधानप्रति श्रद्धा व्यक्त गरे। त्यसपछि परम्परागत दीप प्रज्वलनसँगै अन्तरराष्ट्रिय सङ्गोष्ठीको उद्घाटन सत्र शचरु भयो। कार्यक्रममा उत्तरपूर्वी परिषद्का सचिव सतिन्दर कुमार भल्ला विशिष्ट अतिथि तथा आईसीएआरका पूर्व उपमहानिर्देशक एवं अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आईएलआरआई), दक्षिण एसियाका क्षेत्रीय प्रतिनिधि डा. एच. रहमान विशेष अतिथिका रूपमा उपस्थित थिए।

मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राज्यपाल गौतमले आईसीएआर परिसर, तादोङले स्थापनाको ५० वर्ष पूरा गरेकोमा बधाई दिए। उनले विगतका अनुभवबाट सिक्दै आगामी २५ वर्षका लागि ठोस कृषि मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिए।

सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने सङ्कल्पलाई निरन्तरता दिएकोमा राज्य सरकार तथा किसानहरूलाई बधाई दिँदै उनले रासायनिक मलको दुष्प्रभावबाट बच्न देशभर प्रयास भइरहेको वर्तमान अवस्थामा सिक्किमको जैविक कृषि नमुनाले अन्य राज्यहरूलाई समेत मार्गदर्शन गरिरहेको बताए।

उनले प्रधानमन्त्री फसल बीमा योजना, किसान सम्मान निधि तथा किसान क्रेडिट कार्डजस्ता केन्द्र सरकारका योजनाहरूको चर्चा गर्दै एक जिल्ला एक उत्पादन (ओडीओपी) तथा श्रीअन्नको प्रवर्द्धनमा जोड दिए। साथै, ठूलो अलैँची, अदुवा र फापरजस्ता स्थानीय कृषि उत्पादनलाई ‘भोकल फर लोकल’बाट ‘लोकल टु ग्लोबल’ अर्थात् स्थानीय उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने दिशामा अघि बढाउनुपर्ने बताए।

राज्यमा जैविक उत्पादनका क्रममा अत्यधिक वर्षा र पैह्रोजस्ता प्राकृतिक चुनौतीहरू रहेको उल्लेख गर्दै राज्यपालले ठूलो अलैँची र सुन्तलाका बालीमा देखिने रोगको प्रकोप नियन्त्रण गर्न वैज्ञानिकहरूलाई रोग प्रतिरोधात्मक जात विकास गर्न आग्रह गरे। उनले स्याउको आधुनिक खेतीलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउँदै यस क्षेत्रमा सुरु गरिएका प्रयोगहरू सफल नहुँदासम्म निरन्तरता दिनुपर्नेमा जोड दिए।

यसका अतिरिक्त, उनले पशुपालन, मौरीपालन, च्याउखेती तथा मत्स्यपालनलाई समेटेर एकीकृत कृषि प्रणाली विकास गर्नुपर्ने र कृषि पर्यटनअन्तर्गत ‘एक पर्यटक, एक स्थानीय उत्पादन’ अवधारणा अपनाउनुपर्ने सुझाउ दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande