
गेजिङ, 26 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको पञ्चायती राज विभागका सचिव दुश्यन्त परियारले आज गेजिङ जिल्लाअन्तर्गत याङ्थाङ ग्राम पञ्चायत एकाइमा नवनिर्मित ग्राम पञ्चायत केन्द्र (जीपीके) उद्घाटन गरे। उद्घाटन कार्यक्रममा गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथि तथा अन्य अतिथिहरूको उपस्थितिमा सचिव परियारले उद्घाटन शिलालेख अनावरण गरी केन्द्रको उद्घाटन गरे। त्यसपछि अतिथिहरूले नवनिर्मित कार्यालयको अवलोकन गर्दै त्यहाँ उपलब्ध पूर्वाधार तथा प्रशासनिक सुविधाहरूबारे जानकारी लिए। यस अवसरमा सिक्किमका मुख्यमन्त्रीकी दिवङ्गत आमाको स्मृतिमा उपस्थित सबैले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव परियारले सरकारी सेवाहरू गाउँस्तरमै जनताको पहुँचमा पुर्याउन तथा पञ्चायती राज व्यवस्थालाई सुदृढ बनाउन ग्राम प्रशासन केन्द्रहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले प्रभावकारी सुशासन र स्थानीय विकास सुनिश्चित गर्न जनसहभागिता, आपसी समन्वय तथा सामूहिक जिम्मेवारी आवश्यक रहेको उनले गरे।
उनले पञ्चायत संस्थाहरू प्रशासन र जनताबीचको महत्त्वपूर्ण सेतुका रूपमा रहेको बताउँदै ग्राम प्रशासन केन्द्रको स्वच्छता र गरिमा कायम राख्नुपर्नेमा जोड दिए। साथै, केन्द्रलाई जनताका आवश्यकताप्रति उत्तरदायी, नियमित रूपमा सञ्चालन हुने तथा सबैका लागि सहज पहुँचयोग्य संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।
मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोचअनुरूप यस्ता पहलहरू अघि बढाइएको उल्लेख गर्दै उनले विकासका लाभ समाजका प्रत्येक वर्गसम्म गाउँस्तरमै पुर्याउने सरकारको उद्देश्य रहेको बताए।
जिल्लापाल डेन्जोङ्पाले गाउँस्तरमा सहज र जनउत्तरदायी प्रशासनको आवश्यकतामाथि प्रकाश पारे। उनले स्थानीय सुशासन सुदृढ बनाउन तथा सार्वजनिक सेवाहरू प्रभावकारी रूपमा जनतासम्म पुर्याउन पञ्चायती राज संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।नवनिर्मित केन्द्र सम्पन्न भएकोमा याङ्थाङ ग्राम पञ्चायत एकाइका जनतालाई बधाई दिँदै जिल्लापालले पञ्चायत प्रतिनिधिहरूलाई स्थानीय समुदाय तथा सम्बन्धित विभागहरूसँग घनिष्ठ समन्वय कायम गरी जनताका आवश्यकता र आकाङ्क्षाप्रति संवेदनशील भएर काम गर्न आह्वान गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल