
गान्तोक, 0५ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमको अध्यक्षतामा बिहीबार लोकभवनमा राज्य प्रशासनसँग पहिलो औपचारिक समन्वय बैठक सम्पन्न भएको छ। राज्यको सर्वोच्च संवैधानिक पदको कार्यभार सम्हालेपछि राज्यपालको अध्यक्षतामा आयोजित यो पहिलो औपचारिक समीक्षा तथा परिचयात्मक बैठक थियो।
बैठकमा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो। यसका साथै राज्य मन्त्रिपरिषद्का सदस्यहरू, मुख्य सचिव आर. तेलाङ, लोकभवनका आयुक्त एवं सचिव तथा मुख्यमन्त्रीका प्रधान सचिवको सहभागिता रहेको थियो।
बैठकको प्रारम्भमा मुख्य सचिव आर. तेलाङले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। त्यसपछि मुख्यमन्त्री तामाङले राज्यपाललाई मन्त्रिपरिषद्का सबै सदस्यहरूसँग औपचारिक परिचय गराउँदै सिक्किम सरकारका प्राथमिकता, सञ्चालनमा रहेका प्रमुख विकास परियोजना तथा भावी कार्ययोजनाबारे जानकारी गराए।
यस क्रममा राज्यपाल गौतमले सम्बन्धित मन्त्रीहरूबाट केन्द्र तथा राज्य सरकारद्वारा सञ्चालित विभिन्न जनकल्याणकारी योजना र प्रमुख पहलहरूको प्रगतिबारे जानकारी लिए। उनले विभिन्न योजनाहरूको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूको वास्तविक उद्देश्य राज्यका प्रत्येक नागरिकको सर्वाङ्गीण कल्याण सुनिश्चित गर्नु रहेको उल्लेख गरे।
राज्यपालले दुर्गम क्षेत्रसम्म आधारभूत सुविधाको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पर्यावरण संरक्षणजस्ता प्रमुख क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने आवश्यकतामाथि जोड दिए। उनले लोकभवनको निरन्तर सहयोग र राज्य सरकारसँगको सुदृढ समन्वयबाट सिक्किम तथा यहाँका नागरिकलाई विकासको नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल