
नयाँ दिल्ली, 0१ फरवरी (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले लगातार नवौँ पटक केन्द्रिय बजेट प्रस्तुत गरिन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रिय मन्त्रिपरिषद्ले आइतबार आर्थिक वर्ष २०२६–२७ का लागि केन्द्रिय बजेटलाई स्वीकृति दिएको थियो।
बजेट भाषणमा वित्त मन्त्री निर्मला सीतारमणले भनिन्, सरकार ‘विकसित भारत’ को दिशामा मजबुत कदम चालिरहनेछ। भारत विश्व बजारसँग अझ गहिरो रूपमा जोडिँदै जानेछ। पार्ट–ए को सुरुआत गर्दै उनले देशका ती नागरिकप्रति आभार व्यक्त गरिन्, जसले भारतलाई विश्वका ठूला अर्थतन्त्रहरूमध्ये एक बनाए।
सीतारमणले भनिन्, सरकारले किसान, अनुसूचित जाति–जनजाति, युवा, महिला तथा गरिब वर्गलाई निरन्तर लाभ पुग्ने व्यवस्था सुनिश्चित गरेको छ। यो बजेट युवा शक्तिबाट प्रेरित बजेट हो। हाम्रो सरकारको संकल्प गरिब र किनारिकृतहरूमाथि विशेष ध्यान केन्द्रित गर्नु हो।
उनले भनिन्, यो बजेट कर्तव्य भवनमा तयार गरिएको हो। पहिलो कर्तव्य आर्थिक विकासलाई दिगो रूपमा अघि बढाउनु हो। दोस्रो कर्तव्य जनआकांक्षाहरू पूरा गर्नु हो। तेस्रो कर्तव्य ‘सबका साथ, सबका विकास’ हो—सबैलाई स्रोत, सुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्नु।
वित्त मन्त्री निर्मला सीतारमणले लोकसभामा आफ्नो ऐतिहासिक नवौँ बजेट पेश गर्नु अघि आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरिन्। परम्परा अनुसार संसद जानु अघि उनी राष्ट्रपति भवन पुगिन्। राष्ट्रपति मुर्मुले वित्त मन्त्री सीतारमणलाई दही–चिनी खुवाउँदै बजेटका लागि शुभकामना दिइन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी