
ढाका, १२ फरवरी (हि.स.)। बङ्गलादेशको १३औँ संसदीय निर्वाचनको निगरानीका लागि पुगेका युरोपेली संघको चुनाउ अनुगमन अभियानका प्रमुख पर्यवेक्षक इवार्स इजाबसले आज बङ्गलादेशमा लोकतन्त्रका लागि साँच्चिकै ठूलो दिन बताएका छन्। उनले देशमा दोहोरो निर्वाचनका लागि मतदान शुरु भइसकेको जानकारी दिए।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार, न्यू बेली रोडस्थित सिद्धेश्वरी गर्ल्स कलेजमा बिहान मतदान शुरु भएपछि इजाबसले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय निर्वाचन र राष्ट्रिय जनमतसंग्रह दुवैमाथि आफ्नो टोलीको पूर्ण नजर रहेको बताए। उनले भने, “मलाई लाग्छ कि यो बङ्गलादेशको लोकतन्त्रका लागि साँच्चिकै ठूलो दिन हो।”
इजाबसले यस ऐतिहासिक क्षणमा बङ्गलादेशमा ‘सहभागितामूलक र विश्वसनीय’ निर्वाचन हुने अपेक्षा गरिएको बताए। उनले दिनको अन्त्यमा मतगणना प्रक्रियामाथि पनि निगरानी राखिने जानकारी दिए। ढाका विश्वविद्यालयको कर्जन हलको भ्रमणपछि दिउँसो थप जानकारी दिने पनि उनले बताए।
देशभर तैनाथ २०० जना पर्यवेक्षकहरूले यी ऐतिहासिक निर्वाचनको पारदर्शितामा योगदान पुर्याइरहेको उनले उल्लेख गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी