
- प्रजातिहरूको पहिचान सिक्किम र पश्चिम बंगालबाट सङ्कलित नमूनाको अध्ययनका आधारमा गरियो
कोलकाता, 12 मार्च (हि.स.)। भारतीय प्राणी सर्वेक्षणले लेपिडोप्टेरा वर्गका लाइकेन पतंगका दुई नयाँ प्रजाति पत्ता लगाएर कीट विज्ञानको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साथै भारतीय हिमालय क्षेत्रबाट सात अन्य प्रजातिको पनि पहिलो पटक दस्तावेजीकरण गरिएको छ।
संस्थानले बिहिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार, यो शोध 2 मार्चमा एक अन्तरराष्ट्रिय वर्गिकी शोध पत्रिकामा प्रकाशित भएको हो। यस अध्ययनमा भारतीय वैज्ञानिकहरूको टोलीले ती नयाँ प्रजातिहरूको वैज्ञानिक विवरण प्रस्तुत गरेको छ।
भारतीय प्राणी सर्वेक्षणकी निर्देशक धृति ब्यानर्जीले यस उपलब्धिलाई महत्वपूर्ण भन्दै भनिन्, यो खोजले भारतमा पतंगहरूको जैविक विविधताको अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। लेपिडोप्टेरा जस्ता कम अध्ययन गरिएका समूहहरूमा अनुसन्धान गर्नु पारिस्थितिकी तंत्रको कार्यप्रणाली बुझ्न र हिमालय क्षेत्रमा वायु प्रदूषणका संकेतक जीवहरूको पहिचानका लागि अत्यन्त आवश्यक हुन्छ। उनले यो उपलब्धिले जैविक विविधता सम्पन्न क्षेत्रहरूमा निरन्तर वर्गिकी अनुसन्धानको आवश्यकता पनि औंल्याएकी छन्।
यस शोध टोलीमा कोलकातास्थित भारतीय प्राणी सर्वेक्षणका वैज्ञानिक नवनीत सिंह, जबलपुरस्थित केन्द्रिय क्षेत्रीय केन्द्रका वैज्ञानिक सन्तोष सिंह तथा कोलकाताकी शोधार्थी सृष्टि भट्टाचार्य सहभागी थिए। यी प्रजातिहरूको पहिचान सिक्किमको गोलीटार र पश्चिम बंगालको पानीझोड़ा क्षेत्रबाट सङ्कलित नमूनाको अध्ययनका आधारमा गरिएको हो।
वैज्ञानिकहरूका अनुसार, यी प्रजातिहरूको पहिचान शरीरको बनावट, पखेटाको रङ र ढाँचा, सूक्ष्म शारीरिक संरचना तथा प्रजनन अंगहरूको विशेष संरचनाको आधारमा गरिएको हो। लाइकेन पतंगहरूको पारिस्थितिकी तंत्रमा विशेष महत्व छ। यसको शिशु लाइकेनमा निर्भर हुन्छ, जुन वायु प्रदूषणप्रति अत्यन्त संवेदनशील हुन्छ। त्यसैले यी प्रजातिहरूलाई वातावरण र वायु गुणस्तरका प्राकृतिक संकेतकका रूपमा पनि महत्वपूर्ण मानिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी