
खड़गपुर, 19 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको लागि तृणमूल कंग्रेसले पहिला नै आफ्ना उम्मेद्वारहरूको सूची जारी गरेको छ। यस सूचीलाई लिएर केही जिल्लाहरूमा तृणमूलका कार्यकर्ता तथा समर्थकहरूबीच असन्तोष देखिँदैछ। यस स्थितिमा भाजपा नेता दिलीप घोषले स्पष्ट पारेका छन्, तृणमूलका केही नेताहरू भाजपामा जान चाहन्छन्, तर यसपालि कसैलाई पनि अवसर दिइनेछैन।
बिहिवार बिहान खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै खड़गपुर सदरबाट भाजपा उम्मेद्वार दिलीप घोषले भने, तृणमूल, उनीहरूका विधायक औ मन्त्रीहरूले यति धेरै कट मनी खाइसकेका छन् कि उनीहरूलाई यसको आदत लागिसकेको छ। 74 जना विधायकहरूको टिकट काटिएको छ, सबै रूष्ट भएका छन् तथा आधाले टिकटको लागि भाजपासित सम्पर्क गरिरहेका छन्। पछिल्लो पटक हामीले गल्ती गरेका थियौं, हामीले हार्ने मानिसहरूलाई टिकट दिएका थियौं जसको परिणाम हमीले भोग्नु पऱ्यो। यसपालि भाजपाले कसैलाई पनि सामेल गर्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा