
गान्तोक, 19 मार्च (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले कथित सदर थानामा पार्टीका नेताहरूमाथि भएको हमलाकाण्डको मुद्दालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को दैलो ढकढकाएको छ। सीएपीले जुलाई 2025 मा भएको उक्त घटनाको सम्बन्धमा पुलिस अधीक्षकले बुझाएको प्रतिवेदनको कडा शब्दमा निन्दा गर्दै उक्त प्रतिवेदनलाई भ्रामक, विरोधाभासी र आरोपीहरूलाई बचाउने प्रयास ठहर गरेको छ।
यस सम्बन्धमा सीएपीको एक प्रतिनिधिमण्डलले एनएचआरसी, नयाँ दिल्लीको भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सीएपीले उक्त हमलाकाण्डमा एसकेएमको हात रहेको आरोप लगाउॅंदै पुलिस अधीक्षकको कार्यालय निष्पक्ष जॉंच गर्न विफल बनेको पनि आरोप लगाएको छ। प्रतिवेदनले एनएचआरसीको अधिकारलाई कमजोर बनाउँछ र सिक्किममा राजनीतिक शक्ति र कानून प्रवर्तनबीचको खतरनाक सम्बन्धलाई उजागर गर्दछ भनी सीएपीले जनाएको छ।
सीएपीले यस घटनाको सम्बन्धमा एनएचआरसीद्वारा तत्काल र निर्णायक हस्तक्षेपको माग गरेको छ। सीएपीले यस मुद्दालाई अत्यन्त गम्भीरताका साथ लिएको तथा न्याय, जवाफदेहिता र जिम्मेवार व्यक्तिहरूको खुलासा सुनिश्चित गर्न देशको उच्चतम अदालतमा जान पनि पछि नहट्ने बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल