
सोनादा, 19 मार्च (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीका प्रतिनिधिहरूलाई लिएर आज सोनादा भालुटार बस्तीमा सांगठनिक सभा सम्पन्न भएको छ। सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा संगठन विस्तार हेतु सोनादा टाउन कमिटीमा थप नयाँ कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्।
सोनादा टाउन कमिटीलाई बलियो बनाउनको निम्ति विभिन्न रणनीतिहरु अपनाउॅंदै सभामा व्यापक चर्चा परिचर्चा गरियो। सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीले भने, सांगठनिक सभाको मुख्य उद्देश्य संगठन विस्तार र वर्तमान राजनीतिक परिवेशमाथि छलफल गर्नु थियो। अहिले चुनाउको माहोल छ र पहाडका सम्पूर्ण राजनीतिक दलहरू चुनाउमा व्यस्त छन्। तर, गोरामुमो र पार्टी अध्यक्ष मन घिसिङ मुद्दाको निम्ति केन्द्रित छन्। गोरामुमोको निम्ति चुनाउभन्दा मुद्दा पहिलो प्राथमिकता हो।
उनले भने, भारत सरकारले अहिलेसम्म मुख खोलेको छैन। पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा भारत सरकारसँग गर्नुपर्ने, निभाउनु पर्ने जिम्मेवारीहरु सबै निभाइसकेका छन्। दार्जीलिङ पहाडमा जीटीए जस्तो अंसवैधानिक व्यवस्थाले गर्दा तपाई हामी लथालिङ्ग भएका छौं। गोरामुमोले जीटीए व्यवस्थाको विरोध मात्र होइन, तर व्यवस्थालाई नै खारेज गर्नु पर्ने जोड दिॅंदै उच्च न्यायलयमा मुद्दा हालेको छ। अब जीटीए हटाउ संविधान बचाउ भन्नेपटि लाग्नु पर्छ।
हिन्दुस्थान समाचार / हनोक