
कोलकाता, 19 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउपूर्व गत 14 मार्चको दिन उत्तर कोलकाताको गिरिश पार्क क्षेत्रमा भएको हिंसालाई लिएर चुनाउ आयोगले कोलकाता पुलिससित नयाँ रिपोर्टको माग गरेको छ। यो हिंसा राज्य सरकारकी एक जना मन्त्रीको आवास सामू तृणमूल कंग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताहरूबीच भएको झड़पपछि भएको थियो।
यो घटना त्यै दिन भएको थियो जतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाताको ब्रिगेड परेड मैदानमा आयोजित आफ्नो पार्टीको ऱ्यालीलाई सम्बोधन गर्न आएका थिए।
राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालय सूत्र अनुसार कोलकाता पुलिसले आयोगलाई पठाएको पहिलाको रिपोर्टमा आयोगले उठाएको एउटा प्रश्नको स्पष्ट जवाफ दिइएको थिएन। आयोगको प्रश्न थियो, त्यस दिन सहरमा पहिलाबाटै तैनाथ केन्द्रिय सशस्त्र पुलिस बललाई स्थितिलाई नियन्त्रण गर्नको लागि किन बोलाइएन?
सूत्र अनुसार आयोगले यस मुद्दामा स्पष्ट जानकारी नदिइएको कारण असन्तुष्टि व्यक्त गर्दै कोलकाता पुलिसलाई यस प्रश्नको स्पष्ट जवाफ सहित चाँड़ै नयाँ रिपोर्ट पठाउने निर्देश दिएको छ।
गिरिश पार्कमा भएको झड़पको मामिलामा अहिलेसम्ममा नौ जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। पुलिसले ममिलाको जाँच गरिरहेको छ।
भारतीय जनता पार्टीले आरोप लगाएको छ, कोलकाता पुलिसले कारबाहीमा पक्षपात गरिरहेको छ। भाजपा कार्यकर्ताहरूलाई मात्र लक्षित गरिँदैछ। भाजपाको दाबी छ, यो झड़प त्यसबेला शुरू भयो जतिबेला तृणमूल कार्यकर्ताहरूले प्रधानमन्त्रीको ऱ्यालीमा गइरहेका भाजपा समर्थकहरूको बसमा हमला गरे।
अर्कोतिर तृणमूल कंग्रेसले आरोप लगाएको छ, गिरिश पार्कस्थित राज्यकी महिला एवं बाल विकास तथा समाज कल्याण मन्त्री डा. शशि पाञ्जाको आवासमा ढुङ्गामुड़ा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा