
गान्तोक, 26 मार्च (हि.स.)। सिक्किममा नगरपालिका चुनाउ 2026 घोषणा भइसकेको छ भने चुनाउमा विभिन्न समुदायहरूका लागि गरिएको आरक्षण चर्चाको विषय बनेको छ। विपक्षी राजनीतिक दलहरूले आरक्षणलाई मुद्दा बनाउॅंदै सरकारलाई घेर्ने काम गरिरहेको छ। वर्तमान सिक्किम सरकारले अन्यायपूर्ण आरक्षण लागू गरेको विपक्षीहरूले आरोप लगाइरहेका छन्।
अर्कातिर, मुख्यमन्त्री प्रेमसिंह तामाङले उक्त आरोपहरूलाई निराधार र जनतालाई दिग्भ्रमित गर्ने प्रवृत्तिको रहेको बताएका छन्। उनले आज सिक्किम विधान सभाको एक दिवसीय सत्रमा प्रस्तावित नगरपालिका चुनाउमा विभिन्न समुदायका लागि गरिएको आरक्षण व्यवस्थाको बारेमा स्पष्टीकरण दिए। उनले 2022 मा गरिएको सर्वेक्षणलाई नै सरकारले मान्यता दिएको र सोही आधारमा आरक्षण व्यवस्था लागू गरिएको बताए।
मुख्यमन्त्रीले नयॉं तथ्याङ्कका अनुसार राज्यका 9 वटा शहरी स्थानीय निकायहरूमा अनुसूचित जनजातिहरूको जनसंख्या सर्वाधिक 48 हजार 661 (28 प्रतिशत) रहेको अवगत गराए। यसरी नै अनुसूचित जाति 11 हजार 954 (6.88 प्रतिशत), ओबीसी (राज्य) 34 हजार 756 (20 प्रतिशत), ओबीसी (केन्द्र) 29 हजार 562 (17 प्रतिशत) र अन्यहरू 47 हजार 718 (27.45 प्रतिशत) रहेको उनले बताए। उनले अनुसूचित जनजातिहरूको जनसंख्या सर्वाधिक 28 प्रतिशत रहेकाले नगर पालिका चुनाउमा 25 वटा सीट आरक्षित गरिएको स्पष्ट पारे। उनले जनसंख्याकै आधारमा अनारक्षित 13, ओबीसी (राज्य) 11, ओबीसी (केन्द्र) 8 र अनुसूचित जाति 6 सीट आरक्षित गरिएको अवगत गराए।
यस अतिरिक्त, राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा भाग लिॅंदै विधायकहरूले राखेका कुराहरूको उल्लेख गर्दै वर्तमान सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्रीले बताए। पूर्वको सरकारमा औषधिमाथि वार्षिक 13 करोड़ रूपियॉं खर्च गरिन्थ्यो भने वर्तमान सरकारले वार्षिक 40 करोड़ रूपियॉं खर्च गरिरहेको उनले बताए। औषधिका लागि प्रत्येक वर्ष 15 प्रतिशतको दरले कोषमा बढ़ोत्तरी पनि भइरहेको उनले बताए।
मुख्यमन्त्रीले एक वर्ष नयॉं सड़क नखन्ने, तर सबै अवस्थित सड़कहरूलाई कारपेटिङ गर्ने दिशामा काम भइरहेको जानकारी गराए। यस क्रममा राज्यभरि कुल 572 किलोमिटर सड़क कारपेटिङ गर्ने योजना रहेको उनले बताए। भारत-नेपाल सीमा चिवाभञ्ज्याङ मार्गको उल्लेख गर्दै उनले काम अहिले प्रगतिमा रहेको अवगत गराए। यो मार्ग आधिकारिक रूपमा खोलिएपछि यसले सिक्किमलाई मात्र नभई देशकै लागि पनि ठूलो उपलब्धि बन्ने उनले बताए। उनले चिवाभञ्ज्याङबाट केवल सात घण्टामै काठमाण्डौं पुग्ने सकिने बताए। यस अतिरिक्त, मुख्यमन्त्रीले आगामी जून महिनादेखि नथुला सीमा व्यापार पनि शुरू हुने थप जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल