
- शहरी स्थानीय निकाय चुनाउका कारण पूर्ण बजेट हालको लागि स्थगित: मुख्यमन्त्री
गान्तोक, 26 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम विधानसभाको एक दिवसीय सत्रमा वित्तीय वर्ष 2025-26 का लागि प्रथम अनुपूरक अनुदान माग पेश गरे, जुन बिना बहस सर्वसम्मतिद्वारा पारित गरियो।
मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री तामाङले सदनमा वित्तीय वर्ष 2025-26 का लागि प्रथम अनुपूरक अनुदान माग पेश गर्दै 2025-26 का लागि अनुदानको अनुपूरक मागहरूको पहिलो ब्याचमा 39 अनुदान सामेल रहेको बताए। उनले 113619.70 लाख रुपियाँको सकल अतिरिक्त खर्च सदनमा अधिकृत गर्नका लागि पेश गरे, जसमा राजस्व खातामा 40967.74 लाख रुपियाँ र पूँजीगत खातामा 72651.96 लाख रुपियाँ सामेल छन्। यसमध्ये, शुद्ध नगद बहिर्गमन सम्बन्धी प्रस्तावहरू जम्मा 38010.05 लाख रुपियाँ रहेको उनले बताए।
यस अतिरिक्त, एक दिवसीय सत्र अवधि एउटा संशोधन विधेयक पेश एवं पारित गरियो भने एउटा विधेयक फिर्ता लिइयो। शहरी विकास विभाग मन्त्री भोजराज राईले सिक्किम नगर पालिका (संशोधन) विधेयक 2026 पेश गरेका थिए, जुन बिना बहस पारित गरियो। यसरी नै स्कलर्स युनिभर्सिटी अफ् स्किल्स एण्ड इनोभेशन बिल, 2025 फिर्ता लिइयो, जसलाई शिक्षा मन्त्री राजु बस्नेतले सदनमा पेश गरेका थिए।
मुख्यमन्त्री तामाङले राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा बोल्दै वास्तवमा अहिले बजेट अधिवेशन हुनुपर्ने, तर राज्यमा शहरी स्थानीय निकायहरूको चुनाउ घोषणा भएकाले आचार संहिता लागू भएको बताए। चुनाउ आचार संहिता लागू भएपछि पूर्ण बजेट अधिवेशन सञ्चालन गर्न नसकिएको स्पष्ट पार्दै उनले चुनाउ समापन भएपछि पूर्ण बजेट अधिवेशन हुने जानकारी गराए। उनले सीमित अवधिसम्म खर्च चलाउनका लागि चुनाउ आयोगकै सिफारिसमा अन्तरिम बजेट पेश गरिएको अवगत गराए।
हिन्दुस्थान समाचार / बिशाल