सीएपी महिला कल्याण परिषद्ले गऱ्यो 'नारी शक्ति बन्धन अधिनियम' को स्वागत
बिना शर्मा


गान्तोक, 14 अप्रेल (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला कल्याण परिषद्ले 'नारी शक्ति बन्धन अधिनियम' अन्तर्गत राजनीतिमा महिलाहरूका लागि 33% सिट आरक्षणलाई स्वागत जनाएको छ। राजनीतिमा पनि महिलाहरूको हस्तक्षेप बढेको खण्डमा यसले देश विकासमा ठूलो योगदान पुग्ने पार्टीले विश्वास व्यक्त गरेको छ।

सीएपी महिला कल्याण परिषद्की अध्यक्ष बिना शर्माले मंगलवार जारी प्रेस विज्ञप्तिमा युगौंदेखि चलिआएक‍ो महिलाहरूको संघर्ष एक खुड्किलो उक्लिन सक्षम भएको उल्लेख गर्दै 'नारी शक्ति बन्धन अधिनियम' ले महिलाहरूलाई विधानसभा अनि लोकसभामा 33% आरक्षण सुनिश्चित गर्ने बताएकी छन्।

उनले भनेकी छन्, '48% महिला जनसंख्या भएको देशमा हालसम्म केन्द्रले 15% अनि राज्यहरूले 9% भन्दा बढी महिलालाई राजनैतिक स्थानहरूमा समावेश गर्न सकेको छैन। शिक्षित, सवल र सक्षम हुँदाहुँदै पनि राजनैतिक क्षेत्र महिलाहरूको निम्ति धेरै कठिन अनि चुनौतीपूर्ण छ। देश, राज्य वा समाज चलाउन महिलालाई असक्षम ठानिन्छ, जबकि बिना महिला एउटा घर चल्दैन। केवल घर चलाउने साधनबाट मुक्त भएर महिलाहरू आज हरेक क्षेत्रमा पुरुषसँग कॉंधमा कॉंध मिलाई समाजमा आफ्नो अलग पहिचान बनाउन सक्षम छन्।'

उनले 'नारी शक्ति बन्धन अधिनियम' अन्तर्गत राजनीतिमा पनि अब अधिक महिलाहरूको हस्तक्षेप रहे देश विकासमा ठूलो योगदान पुग्नेछ भन्दै सम्पूर्ण महिलाहरूको पक्षबाट भारत सरकारप्रति आभार व्यक्त गरेकी छन्। आफ्नो राजनीतिक, सामाजिक, आर्थिक आदि अधिकारका लागि संघर्षरत महिलाहरूका लागि 'नारी शक्ति बन्धन अधिनियम' को भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्। अब प्रत्येक राज्यले इमान्दारीपूर्वक यो कानुन महिलाहरूको हितमा लागू आवश्यक छ रहेको उनले बताएकी छन्।

सीएपी महिला कल्याण परिषद्की अध्यक्ष शर्माले नीति निर्धारण गर्ने ठाउँसम्मको यात्रा सहज भए पश्चात् आफ्नो अधिकारको सदुपयोग गरेर समस्त महिला तथा देश हितमा आफ्नो पक्ष तगडा प्रस्तुत गर्नसक्नु महिलाहरूमाथि अब ठूलो चुनौती रहेको पनि जनाएकी छन्। उनले 'नारी शक्ति बन्धन अधिनियम' अन्तर्गत महिलाहरूको भूमिकाले देश निर्माणमा अवश्य ठूलो योगदान पुऱ्याउने अटल विश्वास व्यक्त गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande