
जलपाइगढ़ी, २ अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि रेलवे प्रोटेक्शन फोर्स (आरपीएफ) ले ठूलो सफलता हासिल गरेको छ। जलपाइगुढ़ी रोड स्टेशनमा कामाख्या-आनन्द विहार नर्थ ईस्ट एक्सप्रेसमा गए राति अभियान सञ्चालन गरी १४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा महिला र बालबालिका पनि सामेल छन्।
आरपीएफ स्रोतका अनुसार, गोप्य सूचनाका आधारमा पहिलेदेखि नै निगरानी राखिएको थियो। रेल स्टेशनमा पुग्नेबित्तिकै सामान्य डिब्बामा तलासी अभियान सञ्चालन गरियो। यस क्रममा १४ जना शंकास्पद व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई रेलबाट झारेर नियन्त्रणमा लिइयो।
तलासीका क्रममा उनीहरूबाट आधार कार्ड र प्यान कार्ड बरामद गरिएको छ। साथै मलेसियाको मुद्रा र मोबाइल फोन पनि फेला परेको छ। आधार कार्ड नम्बरहरूको जाँच गर्दा ती सबै नक्कली रहेको पुष्टि भयो।
प्रारम्भिक सोधपुछमा सबै आरोपीहरू बंगलादेशका विभिन्न जिल्लाका बासिन्दा भएको खुलेको छ। उनीहरू अवैध रूपमा सीमा पार गरी उत्तर-पूर्व भारतमा प्रवेश गरेका थिए र कामाख्याबाट दिल्लीतर्फ जाँदै गरेको नर्थ ईस्ट एक्सप्रेसमा चढेका थिए। जानकारीअनुसार, दिल्ली पुगेपछि उनीहरूको जम्मू-कश्मीर जाने योजना पनि रहेको थियो। आरपीएफले थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी