पश्चिम एसियामा जारी युद्धबीच ठूलो राहत, सरकारले पेट्रोकेमिकल उत्पादनलाई ड्युटी फ्री गर्यो
प्रतीकात्मक


- ३० जूनसम्म ४० प्रमुख पेट्रोकेमिकल उत्पादनमा कस्टम ड्युटी लाग्ने छैन

नयाँ दिल्ली, 0२ अप्रेल (हि.स.)। पश्चिम एसियामा जारी द्वन्द्वबीच केन्द्र सरकारले पेट्रोकेमिकल उत्पादनलाई मुख्य काँचो पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूलाई ठूलो राहत दिने घोषणा गरेको छ। यसअन्तर्गत सरकारले ४० प्रमुख पेट्रोकेमिकल उत्पादनमा आगामी तीन महिनासम्मका लागि पूर्ण रूपमा कस्टम ड्युटी हटाएको छ। यस निर्णयको उद्देश्य काँचो पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिबाट भारतीय उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रलाई सुरक्षित राख्नु हो।

अमेरिका-इजरायल र इरानबीच जारी द्वन्द्वका कारण लिइएको यस निर्णयले औषधि (फार्मास्युटिकल), अटो कम्पोनेन्ट, प्लास्टिक, टेक्सटाइल, प्याकेजिङ तथा रासायनिक उत्पादन क्षेत्रमा काम गरिरहेका उद्योगहरूलाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ। कस्टम ड्युटी हटाइएपछि उत्पादन लागत घट्नेछ र आम उपभोक्तालाई महँगीबाट केही राहत मिल्नेछ।

जानकारीअनुसार, औद्योगिक काँचो पदार्थका रूपमा प्रयोग हुने एसिटिक एसिड, एपक्सी रेजिन, प्युरीफाइड टेरेफ्थालिक एसिड, मेथानोल, फिनोल, टोल्युन, एनहाइड्रस अमोनिया, एथिलीन पोलिमर र विभिन्न प्रकारका फर्माल्डिहाइडमा लाग्ने कस्टम ड्युटी ३० जूनसम्मका लागि पूर्ण रूपमा हटाइएको छ।

उल्लेखनीय छ, यो निर्णय त्यस्तो समयमा लिइएको छ, जब पश्चिम एसियामा भूराजनीतिक तनाउ चरम अवस्थामा पुगेको छ। यसको प्रभाव विश्वभर महत्त्वपूर्ण पेट्रोकेमिकल काँचो पदार्थको आपूर्तिमा पर्न थालेको छ। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण वैश्विक आपूर्ति श्रृंखला पनि प्रभावित भएको छ, जसका कारण यी उत्पादनहरूको मूल्य बढ्न थालेको छ। यस्तो अवस्थामा कस्टम ड्युटी हटाएर सरकारले उद्योगहरूका लागि आवश्यक काँचो पदार्थको निरन्तर आपूर्ति सुनिश्चित गर्न खोजेको हो।

यस सम्बन्धमा जनाइएको छ, कस्टम ड्युटी छुटको उद्देश्य आपूर्ति कायम राख्नु र मूल्य श्रृंखलामा हुने मूल्यवृद्धिलाई नियन्त्रण गर्नु हो। यस कदमले अन्तिम उपभोक्ताका लागि मूल्य स्थिरता कायम रहने आशा पनि गरिएको छ, किनकि काँचो पदार्थको लागत घट्दा कम्पनीहरूले उपभोक्तामाथि मूल्य वृद्धि थोपर्नु पर्दैन।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande