बंगालमा शान्तिपूर्ण चुनाउमाथि उठ्यो प्रश्न, विभिन्न स्थानमा हिंसाका घटना
बंगाल चुनाउमा हिंसा


कोलकाता, 23 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभाको पहिलो चरणको मतदानका क्रममा बिहीबार विभिन्न जिल्लाबाट हिंसा, झडप, तोडफोड, हमला, मतदान केन्द्रहरूमा तनाउ तथा मतदान मेसिनमा खराबीका घटनाहरू सार्वजनिक भएका छन्। राज्यका १६ जिल्लाका १५२ सिटमा बिहान ७ बजीदेखि मतदान शुरु भए पनि धेरै संवेदनशील क्षेत्रमा शुरुदेखि नै तनाउपूर्ण वातावरण देखियो। छिटफुट घटनाहरूले चुनाउ शान्तिपूर्ण भएको दाबीमाथि प्रश्न खडा गरेकाे छ।

सबैभन्दा गम्भीर घटना बीरभूम जिल्लाको लाभपुर विधानसभा क्षेत्रमा देखिएको छ, जहाँ भ्रामरकोल क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) का पोलिङ एजेन्टमाथि तृणमूलका कार्यकर्ताले हमला गरेको आरोप लागेको छ। विश्वजीत मण्डल नामका कार्यकर्ताको टाउकोमा गम्भीर चोट लागेको छ र उनको टाउको फुटेको बताइएको छ। घटनापछि क्षेत्रमा ठूलो तनाउ फैलिएको छ र सुरक्षा बल तैनाथ गर्नुपरेको छ।

मुर्शिदाबाद जिल्लाको नाओदामा बिहानदेखि नै पटक-पटक तनाउको स्थिति सिर्जना भएको थियो। दुई राजनीतिक दलका समर्थक आमनेसामने भएका थिए। आरोप अनुसार, एक नेताको काफिलामाथि हमला गरिएको, उनको सवारी साधनमा तोडफोड गरिएको तथा पोलिङ एजेन्टको गाडीमा ढुंगा हानिएको थियो। साथै बाटोमा बाँस राखेर काफिलालाई रोक्ने प्रयास पनि गरिएको थियो। स्थिति बिग्रिएपछि केन्द्रिय सुरक्षा बलले हस्तक्षेप गरी कठिन प्रयासपछि अवस्था नियन्त्रणमा ल्यायो। पछि विरोधस्वरूप सम्बन्धित नेता सडकमा कुर्सी राखेर धरनामा बसे।

कूचबिहार जिल्लाको माथाभांगामा पनि तनाउको खबर आएको छ। भाजपाले आरोप लगाएको छ, तृणमूलका उम्मेदवार मतदान केन्द्रको ५० मिटरभित्र बसेर मतदातालाई प्रभाव पार्ने प्रयास गरिरहेका थिए। पैसा बाँड्ने तथा मतदातालाई सुविधा दिने आरोप पनि लगाइएको छ। यस विषयमा दुवै पक्षबीच चर्को विवाद भयो, जुन पछि नाराबाजी र झडपमा परिणत भयो। पुलिस तथा केन्द्रिय बलले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा ल्याए।

पश्चिम मेदिनीपुर जिल्लाको नारायणगढ क्षेत्रमा तृणमूलले केन्द्रिय सुरक्षा बलमाथि गम्भीर आरोप लगाएको छ। दाबी अनुसार, मतदान शुरु भएको केही समयपछि कार्यकर्ताहरू खाना खान पार्टी कार्यालय पुगेका बेला सुरक्षा बल त्यहाँ पसेर धक्का–मुक्की गरे। यस घटनामा तीन जना घाइते भएको बताइएको छ। यद्यपि सुरक्षा बलको तर्फबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

पश्चिम मेदिनीपुरकै सरिषाखोला क्षेत्रको २२५ नम्बर बूथमा मतदान गर्न पुगेकी एक वृद्ध महिला मतदान गरेपछि अचानक बिरामी परेकी थिइन्। उनलाई तुरुन्तै उपचारका लागि लगिएको थियो, तर पछि उनको मृत्यु भएको बताइएको छ।

मुर्शिदाबादको जालंगी विधानसभा क्षेत्रअन्तर्गत महिषमारीको १०१ नम्बर बूथमा मतदान मेसिनमा खराबी आएको गुनासो गरिएको छ। मेसिन बिग्रिएपछि लामो समयसम्म मतदान प्रभावित भएको थियो, जसका कारण मतदाताहरूको लामो लाइन लागेको थियो र मानिसहरूमा असन्तोष देखिएको थियो। पछि प्राविधिक टोली बोलाएर मेसिन मर्मत गरिएको थियो।

सिलगढीको २३५ नम्बर बूथमा एक युवतीले आरोप लगाएकी छिन् कि जब उनी मतदान गर्न पुगिन्, उनलाई उनको मत पहिले नै हालिसकिएको बताइयो। युवती निराश बन्दै मतदान केन्द्रबाट बाहिरिएकी थिइन्। घटनापछि उजुरी दर्ता गरिएको छ र भाजपा उम्मेदवारले निगरानी फुटेज जाँच गर्न माग गरेका छन्।

हल्दिया क्षेत्रमा पनि केन्द्रिय बलको व्यवहारबारे गुनासाहरू आएका छन्। एक उम्मेदवारले आरोप लगाएका छन्, केही स्थानमा सुरक्षाकर्मीहरूले मतदातासँग कडाइ तथा दुर्व्यवहार गरिरहेका छन्, जसले गर्दा मानिसहरू असहज महसुस गरिरहेका छन्। यद्यपि प्रशासनले मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण भएको दाबी गरेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande