नेपाल सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका भारतसहित ६ देशका राजदूतहरूलाई फिर्ता बोलायो
नेपालका राजदूतहरु


काठमाडौँ, ०७ अप्रेल (हि.स.)। नेपाल सरकारले भारतसहित ६ देशमा राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। सरकार परिवर्तनपछि अघिल्लो सरकारको कार्यकालमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने परम्परालाई निरन्तरता दिँदै यो कदम चालिएको हो।

फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर प्रसाद शर्मा (भारतका लागि नेपालका राजदूत), चित्रलेखा यादव (अष्ट्रेलिया), डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया) रहेका छन्। यसैगरी डा. पूर्णबहादुर नेपाली (श्रीलंका), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) लाई पनि फिर्ता बोलाइएको छ।

परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ, फिर्ता बोलाइएका राजदूतहरूलाई नेपाल फर्किनका लागि एक महिनाको समयसीमा दिइएको छ, जससँगै उनीहरूको बाँकी कार्यकाल समाप्त हुनेछ। सरकार आगामी दिनहरूमा रिक्त हुने कूटनीतिक पदहरूमा नयाँ राजदूत नियुक्त गर्ने तयारीमा रहेको छ। नेपालमा राजदूत नियुक्तिपछि उनीहरूलाई संसदीय सुनुवाई समितिमा प्रस्तुत हुनुपर्छ, जहाँ अनुमोदन भएपछि मात्र सम्बन्धित देशहरूमा एग्रीमो पठाइन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande