
नयाँ दिल्ली, 18 मई (हि.स.)। इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा धेरै चर्चित ब्याट्सम्यान र बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। रोयल च्यालेन्जर्स बेङ्गलुरुले पञ्जाब किङ्सलाई पराजित गर्यो भने दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हरायो। यससँगै सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ।
अरेन्ज क्यापको दौड
विराट कोहलीले पञ्जाबविरुद्ध ३७ बलमा ५८ रनको महत्वपूर्ण पारी खेले। यस पारीसँगै यस सिजनमा उनको कुल रन संख्या ५४२ पुगेको छ र उनी सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थान नजिक पुगेका छन्। उनीभन्दा अगाडि केवल साई सुदर्शन ५५४ रन र शुभमन गिल ५५२ रनसहित रहेका छन्। कुपर कोनोलीले २२ बलमा ३७ रन बनाएपछि यस सिजनमा उनको कुल रन ४७३ पुगेको छ र उनी आठौँ स्थानमा पुगेका छन्।
दिनको दोस्रो खेलमा केएल राहुलले ४२ बलमा ५६ रनको शानदार पारी खेले। यससँगै उनको ५३३ रन पुगेकाे छ र उनले हेनरिक क्लासेनलाई पछि पार्दै चौथो स्थान हासिल गरेका छन्। राजस्थानका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले २१ बलमा ४६ रन बनाए र अहिले ४८६ रनसहित छैटौँ स्थानमा पुगेका छन्।
पर्पल क्यापको दौड
भुवनेश्वर कुमार यस सिजनमा उत्कृष्ट लयमा देखिएका छन्। पञ्जाबविरुद्ध उनले प्रियंश आर्य र प्रभसिमरन सिंहलाई आउट गर्दै २ विकेट लिए। यद्यपि यस खेलमा उनले केही बढी रन खर्चिए, तर विकेट लिने क्रम भने जारी राखे।
यी दुई विकेटसँगै भुवनेश्वरका यस सिजनमा २४ विकेट पुगेका छन्। उनी दोस्रो स्थानमा रहेका कगिसो रबाडाभन्दा तीन विकेटले अगाडि छन्। यस्तै अंशुल कम्बोज उनीभन्दा पाँच विकेटले पछाडि रहेका छन्।
साँझको खेलमा जोफ्रा आर्चरले २ विकेट लिएर ३५ रन खर्चिए। पछिल्ला तीन खेलमा संघर्षपछि उनले उत्कृष्ट पुनरागमन गर्दै १७ विकेटसहित सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा चौथो स्थान हासिल गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल