
भुवनेश्वर, 25 मई (हि.स.)। ओडिशाको राजनीतिमा एउटा महत्वपूर्ण घटनाक्रममा राज्यसभा सांसद देबाशिष सामन्तरायले सोमवार बिजू जनता दल (बीजेडी) को प्राथमिक सदस्यताबाट राजीनामा दिए। आफ्नो राजीनामा पत्रमा उनले आरोप लगाए कि हालैका समयमा पार्टीभित्र उनलाई व्यवस्थित रूपमा बेवास्ता गरियो र पार्टीलाई अब उनको सेवाको आवश्यकता छैन भन्ने महसूस गराइयो। बीजेडी अध्यक्ष नवीन पटनायकलाई सम्बोधन गरिएको राजीनामा पत्रमा सामन्तरायले उनलाई राज्यसभामा पठाएकोमा र अविभाजित कटक जिल्लाका जनताको सेवा गर्ने र राष्ट्रिय स्तरमा ओडिशाका मुद्दाहरू उठाउने अवसर दिएकोमा कृतज्ञता व्यक्त गरे।
उनले पत्रमा लेखे, मलाई राज्यसभामा मनोनित गरेकोमा म सधैं तपाईको ऋणी रहनेछु। अविभाजित कटक जिल्लाका जनताको सेवा गर्ने र राष्ट्रिय मञ्चमा ओडिशाका मुद्दाहरू उठाउने अवसर दिनुभएकोमा म हार्दिक र गहिरो कृतज्ञता व्यक्त गर्दछु।
सामन्तरायले आफूले सधैं पार्टीको हितलाई प्राथमिकता दिएको र वर्षौंदेखि पूर्ण निष्ठा र प्रतिबद्धताका साथ संगठनको लागि काम गरेको बताए। यद्यपि, हालै उनले पार्टीभित्र निरन्तर उपेक्षित र अपमानित महसूस गरेका थिए।
आफ्नो पत्रमा उनले भने, मैले सधैं पार्टीको सर्वोत्तम हितमा काम गरेको छु र पूर्ण विश्वास र समर्पणका साथ संगठनको सेवा गरेको छु। यद्यपि, मलाई लाग्छ कि हालैका समयमा मलाई पार्टीभित्र व्यवस्थित रूपमा बेवास्ता र अपमान गरिएको छ र पार्टीलाई अब मेरो सेवाको आवश्यकता छैन। त्यसैले जनहितमा मैले यो कठिन निर्णय लिएको छु र मेरो राजीनामा स्वीकार गर्न अनुरोध गर्दछु।
सामन्तरायले आफ्नो राजीनामाको कुनै खास कारण उल्लेख नगरेपनि उनको कदमले राज्यको राजनीतिक खेमाभित्र चर्को बहस शुरु गरेको छ। राजनीतिक विश्लेषकहरूको भनाई छ, पार्टीभित्र मतभेद र बढ्दो असन्तुष्टि उनको निर्णयको सम्भावित कारण हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी