
खरसाङ, 26 मई (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीका श्रमिकहरुलाई मालिकले अहिलेसम्म सात करोडभन्दा बढी पीएफ भुक्तान नगरेकोमा मालिक बिरुद्ध एफआईआर दर्ता भएको जानकारी प्राप्त भएको छ।
जानकारी अनुसार, लङ्भ्यू चियाबारीको मालिक बिरुद्ध खरसाङ पुलिस थानामा एफआईआर गरिएको छ। यद्यपि, लङ्भ्यू चियाबारीका मालिक विरुद्ध यो पहिलो एफआईआर भने होइन। योभन्दा अघि पनि 2021 र 2025 मा उनी विरुद्ध एफआईआर गरिएको थियो।
अर्कातिर, लङ्भ्यू चियाबारीका श्रमिकहरुले गरिरहेको अन्शनले मंगलवार 32 दिन पुगेको छ। हिल प्लान्टेशन इम्प्लोइज युनियनका केन्द्रिय महासचिव सुमेन्द्र तामाङले भने, लङ्भ्यू चियाबारीका मालिक सौरभ गर्ग विरुद्ध गत 19 मईमा एफआईआर गरिएको थियो। आज 26 मई उनले आत्मसमर्पण गर्नुपर्ने अन्तिम दिन थियो। सौरभ गर्ग मालिक गोबिन गर्गका छोरा हुन्।
सुमेन्द्र तामाङले लङ्भ्यू चियाबारीका मालिकले चियाबारी श्रमिकहरुको पीएफ भुक्तान नगरेर श्रमिकहरुको शोषण गरिरहेको आरोप लगाए। उनले भने, श्रमिकहरुको पीएफ भुक्तान नगरेपछि पीएफ ऐन 1952 अनुसार मालिक विरुद्ध गैर-जमानती वारेन्ट जारी गरिएको हो। तर, पहिले पनि उनले बेल पाएकोमा आश्चर्य प्रकट गर्दै प्रश्न गरे।
उनले लङ्भ्यू चियाबारीलाई लिएर बुधवार 12:30 खरसाङको एएलसी कार्यालयमा बगानको मालिक र प्रबन्धकलाई लिएर सभा बोलाएको बताए। उनले योभन्दा अघि बोलाइएको सभामा केवल हिल प्लान्टेशन इम्प्लोइज युनियन उपस्थित रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक