
- रणनीतिक दृष्टिले महत्वपूर्ण राज्य सिक्किममा पुलिसको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण: राष्ट्रपति द्रौपदी मुर्मू
गान्तोक, 28 मई (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले सिक्किम पुलिसलाई प्रतिष्ठित “प्रेसिडेन्ट्स पुलिस कलर” प्रदान गरेकी छन्। राजधानीको पाल्जोर स्टेडियममा आज आयोजित एक भव्य समारोहकाबीच राष्ट्रपति मुर्मूले सिक्किम पुलिसलाई “प्रेसिडेन्ट्स पुलिस कलर” ले सम्मानित गरिन्छ। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, पूर्व विधायक कृष्णा कुमारी राई, मुख्य सचिव आर. तेलाङ तथा पुलिस महानिर्देशक अक्षय सचदेवा आदि उपस्थित थिए।
समारोहको प्रारम्भमा राष्ट्रपतिलाई सिक्किम पुलिसका जवानहरूले औपचारिक गार्ड अफ अनर तथा राष्ट्रिय सलामी अर्पण गरेका थिए।
सभालाई सम्बोधन गर्दै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रप्रति सिक्किम पुलिसद्वारा पुर्याइएको उत्कृष्ट तथा विशिष्ट सेवाको सम्मानस्वरूप “प्रेसिडेन्ट्स पुलिस कलर” प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन्। उनले यस सम्मानलाई सम्पूर्ण पुलिस बलका लागि गौरवको विषय भएको उल्लेख गर्दै सिक्किम पुलिससँग सम्बन्धित भूतपूर्व तथा वर्तमान सबै अधिकारी र कर्मचारीहरूलाई बधाई दिइन्।
राष्ट्रपतिले समारोहमा सहभागी परेड टोलीहरूको अनुशासित तथा प्रभावशाली प्रदर्शनको पनि प्रशंसा गरिन्। सिक्किम पुलिसको गौरवशाली इतिहासबारे चर्चा गर्दै राष्ट्रपतिले सन् १८९७ मा स्थापना भएको सिक्किम पुलिसले राज्यमा शान्ति, सुरक्षा तथा न्याय कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। कानून व्यवस्था कायम राख्नुका साथै प्राकृतिक आपदा तथा कठिन परिस्थितिहरूमा पनि पुलिस बलले समयमै राहत तथा सहयोग पुर्याउँदै उत्कृष्ट सेवा दिएको उनले उल्लेख गरिन्।
राष्ट्रपतिले सिक्किम पुलिसका अधिकारीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धिहरूको पनि प्रशंसा गरिन्। संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा कार्यरत केही पुलिस अधिकारीहरूले आफ्नो योगदानका लागि यूएन पीसकिपङ मेडल प्राप्त गरेको उनले बताइन्।
लोकतान्त्रिक समाजमा पुलिसको बदलिँदो भूमिकाबारे बोल्दै राष्ट्रपतिले भारतको पुलिस प्रणाली ऐतिहासिक रूपमा औपनिवेशिक प्रशासनको प्रभावमा विकसित भएको र त्यसबेला नियन्त्रणमुखी सोच प्रमुख रहेको उल्लेख गरिन्। तर आधुनिक भारतमा पुलिस नागरिकहरूको सहयोगी र मार्गदर्शकका रूपमा विकसित हुनुपर्ने आवश्यकतामा उनले जोड दिइन्। समाजमा विश्वास, पारदर्शिता तथा उत्तरदायित्व निर्माण गर्न पुलिसको भूमिका महत्वपूर्ण रहेको उनले बताइन्।
राष्ट्रपतिले पुलिस प्रणालीलाई अझ नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकहरूले डरबिना पुलिससमक्ष पुग्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्। साथै महिला, बालबालिका तथा समाजका कमजोर वर्गहरूप्रति संवेदनशीलता अपनाउनुपर्नेमा पनि उनले जोड दिइन्।
अपराधी पक्राउ गर्नु मात्र पुलिसको उद्देश्य नभई सुरक्षित, सचेत तथा सौहार्दपूर्ण समाज निर्माणमा पनि पुलिसको समान भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपतिले सिक्किम पुलिसले आफ्नो व्यावसायिक तथा जनमैत्री कार्यशैलीमार्फत राज्यमा शान्ति र साम्प्रदायिक सद्भाव कायम राख्न सफल भएको र यसले जनताको माया तथा सम्मान प्राप्त गरेको बताइन्। तीन देशसँग अन्तरराष्ट्रिय सीमा जोडिएको तथा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आगमन हुने रणनीतिक दृष्टिले महत्वपूर्ण राज्य सिक्किममा पुलिसको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण रहेको राष्ट्रपतिले उल्लेख गरिन्। राष्ट्रिय सुरक्षा निकायहरूसँग समन्वय गर्दै पर्यटकहरूको सुरक्षा तथा सहयोग सुनिश्चित गर्नु सिक्किम पुलिसको महत्वपूर्ण दायित्व रहेको उनले बताइन्।
राष्ट्रपतिले आधुनिक प्रविधिबाट उत्पन्न साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ तथा डीपफेकजस्ता चुनौतीहरूको पनि चर्चा गरिन्। यस्ता अपराधसँग प्रभावकारी रूपमा जुध्न पुलिस कर्मचारीहरूलाई नवीनतम प्रविधि, साइबर सुरक्षा सचेतना तथा डिजिटल अनुसन्धान क्षमताले सुसज्जित गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। उनले सिक्किम पुलिसलाई बधाई दिँदै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्।
कार्यक्रमको मुख्य आकर्षण ‘अलंकरण परेड’ तथा “प्रेसिडेन्ट्स पुलिस कलर” को औपचारिक प्रस्तुति रहेको थियो, जहाँ भारतकी राष्ट्रपतिले राष्ट्रप्रति सिक्किम पुलिसद्वारा पुर्याइएको विशिष्ट तथा सराहनीय सेवाको सम्मानस्वरूप उक्त प्रतिष्ठित सम्मान प्रदान गरिन्। यससँगै सिक्किम पुलिस देशको पन्ध्रौँ तथा उत्तरपूर्व क्षेत्रको तेस्रो पुलिस बल बनेको छ, जसले यो सर्वोच्च सम्मान प्राप्त गरेको छ।
कार्यक्रममा विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, सल्लाहकारहरू, जीएमसीका मेयर तथा उपमेयर, वरिष्ठ प्रशासनिक तथा पुलिस अधिकारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल