
उत्तर 24 परगना, 06 मई (हि. स.)। जिल्लाको अशोकनगरमा गए मङ्गलवार राती भाजपा कार्यकर्ताहरूले अनौठो ढङ्गमा विरोध प्रदर्शन गरे। हात-हातमा चिया चालनी र शिरमा भगवा अबीर लगाएर कार्यकर्ताहरू सड़कमा उत्रिए। यस अनौठो प्रदर्शनलाई देखेर क्षेत्रवासी छक्क परे।
भाजपा कार्यकर्ताहरूको भनाइ छ, राज्यमा सत्ता परिवर्तन भएपछि कतिपय स्थानहरूमा हिंसा, तोड़फोड़ तथा कब्जाका घटनाहरू भएको प्रकाशमा आइरहेका छन्। अन्य पार्टीका केही समर्थकहरू रातोरात भाजपामा सामेल भएर क्षेत्रमा अशान्ति फैलाइरहेका छन् र पार्टीको छविलाई धमिल्याउने चेष्टा गरिरहेका छन्। यसैको विरोधमा कार्यकर्ताहरूले “चालनी विरोध” प्रदर्शन गरेका हुन्। उनीहरूको भनाइ छ, जसरी चालनीमा चालेर फोहोर तथा अनावश्यक चिजहरूलाई हटाइन्छ, त्यसरी नै पार्टीमा अचानक सामेल भएका संदिग्ध मानिसहरूलाई चिन्हित गरी उनीहरूलाई हटाउने सन्देश दिइँदैछ।
यो प्रदर्शन अशोक नगर चौरङ्गी मोड़ क्षेत्रमा आयोजना गरियो। स्थानीय भाजपा नेताहरूले बताए, यस मामिलालाई लिेर विजयी विधायकको पक्षबाट प्रशासनको ध्यान पनि आकर्षण गराउँदै आवश्यक कारबाही गर्ने माग गरिएको छ।
अर्कोतिर दलबदललाई लिएर बाहरा क्षेत्रको स्थिति पनि तनाउपूर्ण देखियो। यहाँ भाजपा उम्मेद्वार देवदास मण्डलले तृणमूल कङ्ग्रेसका प्रत्याशी ज्योतिप्रिय मल्लिकलाई परास्त गरेका छन्। त्यसपछि तृणमूलसित जोड़िएका केही मानिसहरू भाजपामा सामेल भएका छन्। आरोप छ, यीमध्ये केही मानिसहरूले भाजपाको झण्डा बोकेर तृणमूलको पार्टी कार्यालयमा कब्जा गर्न अनि अशान्ति फैलाउन थालेका छन्।
नवनिर्वाचित विधायकले हाबरा थाना सामु उभिएर चेताउनी दिँदै भने, यस किसिमको घटनामा असली भाजपा कार्यकर्ताहरूको कुनै भूमिका छैन। उनले भने, यस्तो अराजकता फैलाउने कार्यमा संलिप्त मानिसहरूविरूद्ध कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा