
सालबारी, 01 जून (हि.स.)। खरसाङका युवाले संगीतको क्षेत्रमा युवाहरुलाई अघि बढाउने र संगीतको ज्ञान प्रदान गर्ने उद्देश्य लिएर शुरु गरेको अन्दान्ते स्कूल अफ् म्युजिकको छैटौँ वार्षिक सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। सालबारीको मेथीबारीस्थित पारिजात रोडमा मेथीबारी जनहित समाज भवनमा आयोजित कार्यक्रममा कार्यक्रममा वरिष्ठ नाटककार एवं कलाकार जीवन गुरूङ, वरिष्ठ संगीतकार रोशन सिंह अनि दिपक घतराज अतिथि थिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूका सांगीतिक प्रतिभालाई उजागर गर्नु र संगीतप्रति उनीहरूको रुचि, लगनशीलता र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्नु रहेको अन्दान्ते स्कूल अफ् म्युजिकका निर्देशक अभिषेक घहतराजले बताएका छन्। कार्यक्रममा विद्यार्थीहरू साथै संस्थानका प्रशिक्षक आशिष छेत्री, राजेश रोय अनि निर्देशक अभिषेक घहतराजले पनि आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अतिथिहरुका बाहुलीबाट प्रमाणपत्र प्रदान गरियो।
हिन्दुस्थान समाचार / हनोक