एसडीएफको देन्ताममा सभा सम्पन्न, क्षेत्रस्तरीय समिति गठित
एसडीएफको देन्ताममा सभा सम्पन्न


गान्तोक, 13 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत मानेबुङ देन्ताममा क्षेत्रस्तरीय सभा आयोजित गऱ्यो। श्रृङ्खलाबद्ध रूपमा समिति गठन गर्ने कार्यक्रम अन्तर्गत आयोजित उक्त सभाको अध्यक्षता टीआर छेत्रीले गरेको थियो।

क्षेत्रका कार्यकर्ता तथा एसडीएफ समर्थकहरूको उपस्थितिमा आयोजित उक्त सभामा क्षेत्रस्तरीय समिति गठन गरिएको एसडीएफ प्रचार प्रसार उपाध्यक्ष अम्बर राईले आज प्रेस विज्ञप्तिमा बताएका छन्। उक्त नवगठित समितिमा उपाध्यक्ष सुकराज राई, युवा प्रभारी सन्दिप राई, उपप्रभारी सुरेन गुरूङ, सल्लाहकारहरू सुकमित लेप्चा र भीमबहादुर लिम्बू रहेको छन्।

यसरी नै सोम गाउँका वार्डस्तरीय समितिका अध्यक्ष सोमबहादुर लिम्बू, चेली संयोजिका निर्मला अधिकारी, चेली उपसंयोजिका दावाफुटी शेर्पा, सहसचिव रामबहादुर राई रहेका छन्। एसडीएफ सिक्किमे जनतालाई न्याय दिलाउन र अत्याचारबाट मुक्ति दिलाउन कटिबद्ध रहेको बताउॅंदै सोही कटिबद्धतालाई जन-जनमा पुऱ्याउन पार्टीले देन्ताम क्षेत्रमा उक्त समिति गठन गरेको बताइएको छ।

सो सभामा समितिमा पदासीन कार्यकर्ताहरूले आ-आफ्ना स्तरबाट जिम्मेवारी वहन गरी जन-जनमा पार्टीको सन्देश पुऱ्याउने प्रतिबद्धता व्यक्त गरे। पार्टी कार्यकर्ताहरूले समर्थकहरूलाई सहयोग पुऱ्याउँदै तृणमूलस्तरबाटै पार्टीलाई मजबुत बनाउने कार्य गर्ने निधो गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande