
कोलकाता, 24 जून (हि.स.)। कोलकाताको तारातला क्षेत्रमा बुधवार दिउँसो निर्माणाधीन एउटा गोदामको छप्पर अचानक ढल्यो। दुर्घटनाको समय त्यहाँ 50 देखि 60 जना मजदुर काम गरिरहेका थिए। धेरै कामदार छप्पर र भारी फलामको संरचनाको भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। हालसम्म 6 देखि 7 जना मजदुरको उद्धार गरिएको छ भने उद्धार कार्य जारी रहेको छ ।
सूचना पाएलगत्तै पुलिस, दमकल, आपदा राहत टोली र सेनाको टोली घटनास्थलमा पुग्यो। उद्दार टोलीले ग्यास कटरको सहायताले फलामको बीम काटेर भग्नावशेषमा फसेका मजदुरसम्म पुग्ने प्रयास गरिरहेको छ। घटनास्थलमा क्रेन पनि जड़ान गरिएको छ, जस मार्फत भारी भग्नावशेष हटाउने काम भइरहेको छ ।
निर्माणाधीन गोदामको एक भाग भत्किँदा ढलाईको काम भइरहेको स्थानीयले बताएका छन्। भग्नावशेषमा दबिएका केही मजदुरको आवाज पनि सुनिएको दाबी गरिएको छ। वरपरका मानिसहरूले शुरुमा आफैले राहत कार्य शुरु गरे त्यसपछि प्रशासनिक टोलीहरू आइपुगे।
घटनास्थलमा धेरै एम्बुलेन्स तैनाथ गरिएको छ। घाइते मजदुरहरुलाई उद्धार गरी तत्कालै नजिकैको अस्पतालमा पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। हालसम्म कसैको मृत्युको आधिकारिक पुष्टी हुन सकेको छैन, यद्यपि धेरै मानिस भग्नावशेषमा फसेकाले हताहत हुनेहरूको सम्भावना रहेको छ।
दुर्घटनाको जानकारी पाएपछि भारतीय जनता पार्टी (भाजपा) का नेता राकेश सिंह पनि घटनास्थल पुगे। दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ।
निर्माणका क्रममा मजदुरको सुरक्षाको पर्याप्त व्यवस्था गरिएको थियो वा थिएन भन्ने पनि अध्ययन भइरहेको छ। मंगलवारको अविरल वर्षाका कारण निर्माणाधीन संरचना कमजोर हुनसक्ने स्थानीय स्तरमा आशंका गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी