
गुवाहाटी, 27 जून (हि.स.)। दुर्लभ र संरक्षित चरा होर्नबिलको शिकारको घटनामा असम वन विभागले तीन जना अभियुक्तलाई पक्राउ गरेर ठूलो सफलता हासिल गरेको छ। यसलाई वन्यजन्तु संरक्षणतर्फ महत्वपूर्ण कदम मानिएको छ।
प्राप्त जानकारी अनुसार, डिग्बोई वन डिभिजन अन्तर्गत मार्गेरिटा पूर्वी रेन्ज क्षेत्रमा एक सूचनाको आधारमा छापा मारेर तीन जना अभियुक्तलाई पक्राउ गरियो। प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरू लामो समयदेखि संरक्षित चरा, होर्नबिलको शिकारमा संलग्न रहेको पत्ता लागेको छ। वन विभागले सूचनाको आधारमा कारबाही गरेको र उनीहरूलाई पक्राउ गरेको हो।
राज्य वन तथा वातावरण मन्त्री जयन्त मल्लबरुवाले सामाजिक सञ्जाल मार्फत कारबाहीको बारेमा जानकारी साझा गरे। उनले डिग्बोई वन डिभिजन टोलीको द्रुत कारबाहीको प्रशंसा गरे र वन्यजन्तु र वनलाई हानि पुर्यानउने कुनै पनि अपराधीप्रति असम सरकारको शून्य-सहिष्णुता नीति रहेको बताए।
वन विभागले तीन जना अभियुक्तहरू विरुद्ध वन्यजन्तु संरक्षण अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ र अनुसन्धान शुरु गरेको छ।
यो गिरोहको अन्तरराज्यिय वन्यजन्तु तस्करी नेटवर्कसँग कुनै सम्बन्ध छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी