
नयाँ दिल्ली, २७ जून (हि.स.)। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले उपभोक्ताको उजुरीका आधारमा एसएजे फुड प्रोडक्ट्सलाई नोटिस जारी गरेको छ। कम्पनीको ईट फिट डाइजेस्टिभ बिस्कुट सम्बन्धी कथित भ्रामक दाबीका विषयमा उजुरी दर्ता भएपछि यो कदम चालिएको हो। एफएसएसएआईले कम्पनीलाई ७ दिनभित्र नोटिसको जवाफ दिँदै स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
एफएसएसएआईद्वारा जारी नोटिसमा कम्पनीले आफ्नो उत्पादनमा चिनी नरहेको दाबी गरे पनि त्यसमा सोलिड ग्लुकोज सिरप र माल्टोडेक्स्ट्रिन रहेको उल्लेख गरिएको छ। त्यसैगरी कम्पनीले बिस्कुट १०० प्रतिशत गहुँको पीठोबाट बनेको दाबी गरे पनि वास्तविक रूपमा त्यसमा ७२ प्रतिशत मात्र गहुँको पीठो रहेको पाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यस विषयमा अनुसन्धान जारी रहेको र कम्पनीको जवाफका आधारमा आवश्यक थप कारबाही गरिने जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी