
तेहरान/वाशिङ्टन/बेरुत, २८ जून (हि.स.)। केही दिनको शान्तिपछि होर्मुज जलडमरूमध्य नजिक एउटा व्यावसायिक जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि बमबारी गरेको छ। अमेरिकी सेनाले सिरिक सहर, बन्दर-ए-लेङ्गे तथा केशम द्वीपलाई निशाना बनाएको जनाएको छ। उता बहराइन र कुवेतमा हवाई आक्रमणका साइरन बजिरहेका छन्। कुवेती सेनाले शत्रुपक्षका मिसाइल तथा ड्रोन आक्रमणको जवाफ दिइरहेको जनाएको छ। यसैबीच लेबनानमा शान्तिको आशा फेरि ध्वस्त भएको छ।
लेबनान सरकारसँग दुश्मनी अन्त्य गर्न फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको एक दिनमै इजरायलले दक्षिणी लेबनानमा बमबारी गरेको छ। उक्त आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इजरायलद्वारा भएको उल्लङ्घन रोक्न सहयोगको आग्रह गरेका छन्। अर्कोतर्फ, इरान समर्थित हिजबुल्लाहले इजरायलसँग भएको सम्झौतालाई “राष्ट्रिय सार्वभौमिकताको आत्मसमर्पण” भन्दै अस्वीकार गरेको छ।
सीएनएन, अल जजिरा, एबीसी न्युज तथा सीबीएस न्युजका अनुसार, अमेरिकी सेनाले इरानका १० वटा सैन्य अड्डामाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) का अनुसार, अमेरिकी लडाकु विमानहरूले होर्मुज जलडमरूमध्यभित्र र आसपासका विभिन्न स्थानमा आक्रमण गरेका छन्। सेन्टकमले सामाजिक सञ्जालमार्फत आक्रमणको एक धमिलो भिडियो पनि सार्वजनिक गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकाले देशका पाँच तटीय क्षेत्रमा बमबारी गरेको पुष्टि गरेको छ।
आईआरजीसीले शत्रुपक्षको कुनै पनि आक्रामकताको कडा जवाफ दिइने चेताउनी दिएको छ। उसका अनुसार, अमेरिका-इरान अन्तरिम सम्झौताअनुसार होर्मुज जलडमरूमध्यको आवागमन नियन्त्रण गर्ने अधिकार तेहरानसँग रहेको छ, तर अमेरिकाले त्यसको उल्लङ्घन गरिरहेको छ। अबदेखि नियम उल्लङ्घन गर्ने जहाजहरूमाथि अझ कडा कारबाही गरिने पनि आईआरजीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेकाले अमेरिकाले यी आक्रमण गरेको बताएका छन्। उनका अनुसार, अमेरिकी विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारणस्थलका साथै तटीय रडार केन्द्रहरूलाई पनि निशाना बनाएका छन्। सेन्टकमले पनामाको झण्डा बोकेको एक तेल ट्याङ्करमाथि इरानले रातभर ड्रोन आक्रमण गरेपछि त्यसको जवाफस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गरेको छ। उक्त ट्याङ्करमा २० लाख ब्यारेलभन्दा बढी तेल रहेको बताइएको छ।
ट्रम्पले आवश्यक परे अमेरिका पूर्ण सैन्य शक्तिसहित आक्रमण गर्न बाध्य हुन सक्ने चेताउनी दिएका छन्। उनले त्यसो भए “इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै समाप्त हुन सक्ने” दाबी गरेका छन्। उता अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। इरानी समाचार एजेन्सी इरना र तस्नीमले आईआरजीसीको विज्ञप्ति सार्वजनिक गर्दै कुवेत र बहराइनमा भएका आक्रमणको पुष्टि गरेका छन्।
आईआरजीसीका अनुसार, उसका नौसेना र वायुसेनाले कुवेतस्थित अमेरिकी अली अल सलेम एयरबेस तथा बहराइनको राजधानी मनामास्थित पोर्ट सलमानमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडामाथि ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेका छन्। यी आक्रमण इरानका पाँच तटीय क्षेत्रमाथि अमेरिकाले गरेको बमबारीको प्रत्युत्तर भएको आईआरजीसीले जनाएको छ। ओमानले भने बहराइनमाथि भएको भनिएको इरानी ड्रोन आक्रमणको निन्दा गरेको छ।
उल्लेखनीय छ, फरवरीको अन्त्यतिर शुरु भएको यो लडाई अझै समाप्त भएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ फरवरीमा इरानविरुद्ध ठूलो सैन्य अभियानको घोषणा गरेका थिए। त्यसपछि अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका सैन्य, सरकारी तथा पूर्वाधारसम्बन्धी विभिन्न लक्ष्यमा व्यापक आक्रमण गरेका थिए, जसका कारण मध्यपूर्वमा तनाव चर्किएको थियो।
शान्ति स्थापनाका लागि विभिन्न प्रयास भए पनि सफलता मिल्न सकेन। यसै क्रममा अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू यस सप्ताहन्त स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्टमा युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताबारे वार्ता गर्न पुगेका थिए। वार्ता दुवै देशबीच गत साता हस्ताक्षर भएको सहमतिपत्रको आधारमा अघि बढिरहेको थियो। तर वार्ता अगाडि बढ्न नपाउँदै फेरि युद्ध चर्किएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल