
- श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टद्वारा आधिकारिक रूपमा आवेदन आह्वान
- आवेदन दिने अन्तिम मिति जुलाई १८
अयोध्या, 13 जुलाई (हि.स.)। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले श्री राम जन्मभूमि मन्दिरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ। आवेदन दिने अन्तिम मिति 18 जुलाईको साँझ ४ बजीसम्म तोकिएको छ।
ट्रस्टले सीईओ पदसम्बन्धी सूचना आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको छ। सीईओको नियुक्ति प्रारम्भिक रूपमा तीन वर्षको करारमा हुनेछ। कार्यसम्पादन सन्तोषजनक भएमा करार नवीकरण गरिनेछ। तलब तथा अन्य सेवा-सुविधा आपसी सहमतिमा निर्धारण गरिनेछ र कार्यस्थल अयोध्या हुनेछ। चयनित सीईओले ट्रस्टका महासचिवलाई प्रत्यक्ष रूपमा प्रतिवेदन बुझाउनेछन्।
यस पदका लागि उम्मेदवारको उमेर ५० देखि ७० वर्षको बीचमा हुनुपर्नेछ। साथै कुनै ठूलो सार्वजनिक संस्था, सरकारी विभाग, प्रतिष्ठान वा कम्पनीमा कम्तीमा २० वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य छ। उम्मेदवारसँग मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक (ब्याचलर्स) तह उत्तीर्ण गरेको योग्यता हुनुपर्नेछ।
धार्मिक योग्यताअन्तर्गत आवेदक सनातन हिन्दू हुनुपर्ने, नियमित रूपमा पूजा-आराधना गर्ने तथा वैष्णव परम्परासँग सम्बन्धित भगवान् रामका भक्तलाई प्राथमिकता दिइने ट्रस्टले जनाएको छ।
यसका साथै उम्मेदवारलाई हिन्दी र अङ्ग्रेजी दुवै भाषामा राम्रो ज्ञान हुनुपर्नेछ। कुनै मन्दिर वा हिन्दू धार्मिक संस्थामा प्रमुख प्रशासनिक अधिकारीका रूपमा कार्य गरेको अनुभव भएका अवकाशप्राप्त अधिकारीहरूलाई विशेष प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन इमेलमार्फत searchcommittee.srjbt@gmail.com मा पठाउनुपर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल