
नाम्ची, 28 जुलाई (हि.स.)। राष्ट्रिय योग्यता सह प्रवेश परीक्षा (एनईईटी) २०२६ मा सिक्किम राज्यमै सर्वोच्च स्थान हासिल गरेकी माम्ले निवासी ऋिचा सुब्बालाई ४१ नम्बर माम्ले ग्राम प्रशासनिक केन्द्र (जीपीयू) ले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ।
डाँडागाउँ, डोलिङ माम्ले निवासी सन्तोष सुब्बा र पुष्पा शर्माकी ज्येष्ठ सुपुत्री ऋिचा सुब्बाले एनईईटी २०२६ मा अखिल भारतीय श्रेणी (एआईआर) १४,७७७, अनुसूचित जनजाति (एसटी) वर्गमा १०६औँ स्थान तथा ७२० मध्ये ५८७ अङ्क प्राप्त गर्दै सिक्किमबाट शीर्ष स्थान हासिल गरेकी हुन्।
जीपीयूका सह-निर्देशक डीबी राई, पञ्चायत सदस्य रीता राई, कार्यालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा ऋिचाको निवासमै पुगेर उनलाई सम्मान गरिएको थियो। सो अवसरमा सह-निर्देशक राईले ऋिचाको कडा परिश्रम, लगनशीलता र उत्कृष्ट उपलब्धिको प्रशंसा गर्दै उनी माम्ले ग्राम पञ्चायत एकाइको गौरव हुनुका साथै युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताए।
परिवारका अनुसार, ऋिचा सानैदेखि अध्ययनमा अब्बल रहँदै आएकी थिइन्। उनले सन् २०२३ मा कक्षा १० तथा सन् २०२५ मा कक्षा १२ को सीआईएससीई परीक्षामा नाम्ची पब्लिक स्कूलबाट विज्ञान विषयमा उत्कृष्ट नतिजा हासिल गर्दै दुवै पटक ‘ब्रेन अफ एनपीएस’ पुरस्कार प्राप्त गरेकी थिइन्।
चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनमार्फत उज्ज्वल भविष्य निर्माणको शुभकामना व्यक्त गर्दै ४१ नम्बर माम्ले ग्राम प्रशासनिक केन्द्रले उनलाई प्रशंसा पत्र प्रदान गरेको जानकारी ग्राम प्रशासनिक सहायक गङ्गीमाया मङ्गरले दिएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल