राम मन्दिर भेटी चोरी प्रकरणका दोषीमाथि कडा कारबाही हुनुपर्छ : आलोक कुमार
राम मन्दिर भेटी चोरी प्रकरणका दोषीमाथि कडा कारबाही हुनुपर्छ : आलोक कुमार


सौरव राय

नयाँ दिल्ली, 0४ जुलाई (हि.स.)। विश्व हिन्दू परिषद (विहिप) का अन्तरराष्ट्रिय अध्यक्ष आलोक कुमारले अयोध्यास्थित राम जन्मभूमि मन्दिरमा भेटी चोरी भएको घटनाको निष्पक्ष जाँच गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्छ भनेका छन्।

हिन्दुस्थान समाचारसँगको कुराकानीमा आलोक कुमारले उक्त घटनाले सम्पूर्ण हिन्दू समाजलाई गहिरो आघात पुर्‍याएको बताए। उनका अनुसार, विहिपले शुरुदेखि नै निष्पक्ष जाँच तथा दोषीविरुद्ध कठोर कारबाहीको माग गर्दै आएको छ।

उनले घटनाको जानकारी प्राप्त हुनासाथ संगठनले एफआईआर दर्ता गर्न, अनुभवी अधिकारीमार्फत जाँच गराउन तथा मुद्दाको सुनुवाई फास्ट ट्र्याक अदालतमा गराउन माग गरेको जानकारी दिए। यसबाट सत्य तथ्य छिट्टै सार्वजनिक हुने उनले विश्वास व्यक्त गरेका छन्।

चम्पत राय, अनिल मिश्र र गोपाल रावलाई जोगाउने प्रयास गरिएको भन्ने आरोपबारे उनले विहिप कुनै पनि व्यक्तिलाई बचाउने पक्षमा नरहेको स्पष्ट पारे। उनका अनुसार, जस-जसविरुद्ध आरोप लागेको छ, ती सबैको निष्पक्ष जाँच हुनुपर्छ र कसैले संज्ञेय अपराध गरेको प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ।

मन्दिर व्यवस्थापनमाथि उठिरहेका प्रश्नबारे आलोक कुमारले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुदृढ़ प्रशासनिक तथा प्राविधिक व्यवस्था आवश्यक रहेको स्वीकार गरे।

उनले मन्दिरको सञ्चालन श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यासले गरिरहेको उल्लेख गर्दै आधुनिक सुरक्षा प्रणाली, पारदर्शी प्रक्रिया तथा अनुभवी प्रशासनिक अधिकारीहरूको नियुक्तिजस्ता कदम चालिनुपर्ने सुझाउ दिए। यसबाट भक्तजनले चढाएको प्रत्येक रुपियाँ सुरक्षित रहने उनको भनाइ छ।

चम्पत रायका कथित अभिव्यक्ति तथा उनीमाथि लागेका आरोपबारे विहिपले संयमित धारणा राखेको छ। संगठनले मिडिया रिपोर्टका आधारमा निष्कर्ष निकाल्नु उचित नहुने र जाँच पूरा नभएसम्म कसैविरुद्ध संगठनात्मक कारबाही गर्नु हतार हुने जनाएको छ। साथै, जाँचबाट कसैको लापरवाही वा अपराध प्रमाणित भए कुनै पनि अवस्थामा माफी दिन नहुने पनि विहिपले दोहोर्‍याएको छ।

न्यास विघटनको मागबारे विहिपको धारणा भने केही व्यक्तिमाथिको आरोपका आधारमा सम्पूर्ण न्यास विघटन गर्नु उचित नहुने रहेको छ। संगठनका अनुसार, न्यासका अन्य सदस्य प्रतिष्ठित सन्त तथा सम्मानित व्यक्तित्व हुन्।

आलोक कुमारले करोडौं रामभक्तको विश्वास कायम राख्ने एउटै उपाय भनेको पूर्ण पारदर्शिताका साथ जाच सम्पन्न गर्नु, दोषीलाई कानुनअनुसार सजाय दिनु तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था लागू गर्नु रहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande