अयोध्यामा राममन्दिर 'चढ़ावा' चोरीको घटनाले अत्यन्त आहत, दुखी, लज्जित छु: गोविन्द गिरि महाराज
गोविंद गिरि महाराज


नयाँ दिल्ली, 0५ जुलाई (हि.स.)। अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरको चढावा चोरी प्रकरणमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका कोषाध्यक्ष गोविन्द देव गिरि महाराजले पहिलो पटक प्रतिक्रिया दिँदै चढावा गणना हुने स्थान र त्यसको प्रक्रियासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। साथै, यस जघन्य महापापको अनुसन्धानमा आफू कुनै पक्ष वा विपक्षमा नभई सत्यको पक्षमा रहेको उनले बताएका छन्। दोषीहरूलाई पक्राउ गरी कानुनअनुसार सजाय दिनुपर्ने उनको भनाइ छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका कोषाध्यक्ष गोविन्द गिरि महाराजले जारी गरेको वक्तव्यमा चढावा चोरीको घटनाले आफूलाई अत्यन्त मर्माहत, दुःखी र लज्जित बनाएको उल्लेख गरेका छन्। उनले भने, “चोरी कति भयो, कहिले भयो र कसरी भयो भन्ने विषय अनुसन्धानकै दायरामा पर्छ। यस घटनाको गहिराइसम्म पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ। अनुसन्धान एजेन्सीमाथि विश्वास राख्नुस्। अदालतले आफ्नो काम गर्नेछ। एसआईटी र पुलिसप्रति हामीलाई पूर्ण विश्वास छ। दोषीहरू उम्किन सक्दैनन्। सबैले अनुसन्धान प्रक्रिया र न्याय प्रणालीप्रति विश्वास गर्नुपर्छ। हामी न कसैको पक्षमा छौँ, न कसैको विपक्षमा। हामी सत्यको पक्षमा छौँ। हाम्रो आग्रह छ कि अनुसन्धान एजेन्सी र पुलिसले दोषीलाई पक्राउ गरी कानुनबमोजिम सजाय दिलाओस्।”

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका कोषाध्यक्ष गोविन्द गिरि महाराजले अयोध्या पुग्नुअघि एक सार्वजनिक निवेदन जारी गर्दै घटनाबारे आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले अयोध्या मन्दिरमा भएको अविश्वसनीय आर्थिक हिनामिनाको घटनाले सम्पूर्ण रामभक्तहरूको हृदयमा गहिरो चोट पुगेको बताएका छन्। उनका अनुसार, केही व्यक्तिले चढावा गणना गर्ने क्रममा चाँदी, सुनका गहना तथा अन्य बहुमूल्य वस्तु चोरी गरेर जघन्य पाप गरेका छन्। यस घटनाले आफूलाई अत्यन्त मर्माहत, दुःखी र लज्जित बनाएको उनले उल्लेख गरेका छन्।

आफ्नो निवेदनमा गोविन्द गिरि महाराजले कोषमा जम्मा भएको सम्पूर्ण रकमको हिसाब-किताब सुरक्षित रहेको र अधिकृत व्यक्तिले आवश्यक परे त्यसको परीक्षण गर्न सक्ने बताएका छन्। उनले राममन्दिरका सम्पूर्ण खर्च ब्याङ्क मार्फत हुने र आफू उक्त खाताको अधिकृत हस्ताक्षरकर्ता नरहेको पनि स्पष्ट पारेका छन्।

चढावाको विषयमा उनले भने, “रामभक्तहरूले हुन्डीमा समर्पण गरेको चढावा गणना हुने स्थानसँग मेरो शुरुदेखि नै कुनै सम्बन्ध छैन। मेरो स्थायी बसोबास पुणेमा छ र धार्मिक प्रवचनका कारण निरन्तर यात्रामा रहन्छु। चढावा गणना दैनिक रूपमा हुने नियमित कार्य हो, जसको जिम्मेवारी शुरुदेखि नै स्थानीय न्यासीहरूले सम्हाल्दै आएका छन्। चढावा गणनासम्बन्धी मानक सञ्चालन प्रक्रिया (एसओपी) उनीहरूले स्टेट ब्याङ्क अफ इन्डियासँग मिलेर तयार गरेका हुन्। उक्त प्रक्रिया मलाई यसै महिनामा मात्र देखाइएको हो।”

गोविन्द गिरि महाराजले आफूले कहिल्यै न्यासी वा कोषाध्यक्ष पदका लागि प्रयास नगरेको पनि बताएका छन्। न्यासी बनेदेखि हालसम्म एक-दुई अपवादबाहेक आफूले मन्दिरका लागि कसैबाट नगद कुनै भेंट स्वीकार नगरेको र चेकमार्फत प्राप्त सहयोगबाहेक अन्य कुनै माध्यमबाट रकम नलिएको उनले उल्लेख गरेका छन्। साथै, न्यासको कामका लागि प्रत्येक एकदेखि डेढ़ महिनामा अयोध्या आउने गरे पनि आफ्नो हवाई यात्रा तथा अन्य भ्रमण खर्च न्यासले नबेहोर्ने उनले स्पष्ट पारे।

उनले सिन्धी समुदायले भक्तिभावपूर्वक समर्पण गरेको २०० किलोग्राम चाँदीबाट तयार गरिएका २०० वटा चाँदीका इँटा मूल्यवान धातु दर्ता पुस्तिकामा विधिवत् अभिलेख गरिएको र तिनलाई शुद्ध चाँदीका इँटाका रूपमा ढालेर स्टेट बैंक अफ इन्डियाको अयोध्या शाखास्थित लकरमा सुरक्षित राखिएको जानकारी दिए।

गोविन्द गिरि महाराजले भगवान् श्रीरामको कृपाले सत्य चाँडै सार्वजनिक हुने र सबै शंका-उपशंका हट्ने विश्वास व्यक्त गरेका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन पूर्ण सतर्कता अपनाइने र सनातन धर्म तथा श्रीराम मन्दिरको प्रतिष्ठा धूमिल पार्ने कुनै पनि प्रयास सफल हुन नदिने विश्वास पनि उनले व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande