
मङ्गन, 13 अगस्त (हि.स.)। सिक्किम सरकारको बागवानी विभाग, मङ्गन जिल्लाको आयोजनामा राष्ट्रिय बाँस मिशन अन्तर्गत बाँस रोपणसम्बन्धी क्षेत्र विस्तार कार्यक्रम आज तुङ-नागा जीपीयू अन्तर्गत रिलमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक कल्याण विभागका मन्त्री तथा लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुप लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा विशेषगरी पैह्रो प्रभावित क्षेत्रमा बाँस रोपणको महत्वबारे जानकारी गराइयो। बाँसको जराले माटोलाई मजबुत रूपमा समातेर राख्ने भएकाले माटो कटान कम गर्न सहयोग पुग्ने बताइएको छ। यसकारण माटो कटान तथा पैह्रोको जोखिममा रहेका क्षेत्रहरूमा बाँस रोपणले जमिन संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइयो।
बाँस रोपण पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण कदम रहेको कार्यक्रममा उल्लेख गरियो। बाँस छिटो बढ्ने वनस्पति भएकाले यसले हरियाली कायम राख्न सहयोग पुर्याउँछ। साथै, बाँसको संरक्षण र प्रवर्द्धनले स्थानीय समुदायलाई दीर्घकालीन लाभ प्रदान गर्नुका साथै स्वस्थ तथा दिगो पर्यावरण निर्माणमा सहयोग पुग्ने बताइएको छ।
कार्यक्रमका क्रममा बाँस रोप्ने, संरक्षण गर्ने तथा यसको उचित हेरचाह गर्ने विषयमा पनि छलफल गरियो। विशेषगरी माटो कटान तथा पैह्रोको समस्या रहेका क्षेत्रमा उपलब्ध जमिनको उचित उपयोग गर्दै उपयुक्त स्थानमा बाँस रोप्न स्थानीयवासी तथा कृषकहरूलाई प्रोत्साहित गरिएको थियो।
कार्यक्रमअन्तर्गत मन्त्री लेप्चाले कृषकहरूलाई बाँसका बिरुवा तथा पाइप वितरण गरे। उनले कृषकहरूलाई बाँस रोपणलाई प्राथमिकताका साथ अघि बढाउन तथा उपलब्ध स्रोतसाधनको उचित उपयोग गर्न प्रोत्साहित गरे। साथै, जमिन तथा पर्यावरण संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीय जनप्रतिनिधि, कृषक तथा सर्वसाधारणको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी र अर्थपूर्ण बनाएको बताइएको छ। भावी पुस्ताका लागि सुरक्षित, हरिय तथा दिगो पर्यावरण निर्माण गर्न बाँस रोपणलाई प्रवर्द्धन गर्दै प्रकृति तथा जमिन संरक्षणका लागि सामूहिक रूपमा अघि बढ्न कार्यक्रममा सबैलाई आह्वान गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल