
- सिक्किम भिजन @2047’ तयारीका लागि कार्यकारी समितिको पहिलो बैठक सम्पन्न
गान्तोक, 13 अगस्त (हि.स.)। सिक्किम सरकारको योजना तथा विकास विभागको आयोजनामा ‘सिक्किम भिजन @2047’ तयार गर्ने कार्यका लागि गठित कार्यकारी समितिको पहिलो बैठक बिहीबार टाशीलिङ सचिवालयस्थित सम्मेलन कक्षमा सम्पन्न भयो। बैठकको अध्यक्षता मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं कार्यकारी परिषद्का अध्यक्ष प्रो. महेन्द्र पी. लामाले गरेका थिए। कार्यक्रममा आईटीएसका उपाध्यक्ष चन्द्रप्रकाश शर्मा तथा अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
बैठकमा प्रो. महेन्द्र पी. लामाले‘ दिशानिर्देश, लक्ष्य तथा रणनीतिक उपकरणहरू’ विषयमा प्रस्तुतीकरण गरे। उनले भविष्यको विकास दृष्टिकोण निर्माण गर्न विगतको इतिहासलाई फर्केर हेर्नुपर्ने तथा नकारात्मक प्रभावबाट उत्पन्न अवसरहरूको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले सिक्किमको दिगो, समावेशी तथा समग्र विकास सुनिश्चित गर्न बैठकमा सहभागी सबैलाई आफ्नो विशेषज्ञता, अनुभव तथा सुझाउ सक्रिय रूपमा प्रस्तुत गर्न आग्रह गरे।
प्रस्तुतीकरणपछि योजना तथा विकास विभागका सचिव तुषार निखारेले ‘सिक्किम भिजन 2047’ सम्बन्धमा आईटीएसले हालसम्म विभिन्न सरोकारवालासँग गरेका बैठकहरूबारे जानकारी गराए। आईटीएसकी सदस्या नम्रता थापाले हालसम्म भएका बैठकका निष्कर्ष, टोलीद्वारा गरिएको स्थलगत भ्रमण तथा त्यसबाट प्राप्त सुझाउ र सिफारिसहरू प्रस्तुत गरिन्।
यसैगरी, नीति आयोगको स्टेट सपोर्ट मिसनका टोली प्रमुख घनश्याम खरेलले स्टेट सपोर्ट मिसनको उद्देश्य तथा हालसम्मको प्रगतिबारे जानकारी दिए। त्यसपछि एसएसएमकी क्षेत्रीय विशेषज्ञ डा. छितेन छोक्की भोटियाले स्वास्थ्य तथा शिक्षा क्षेत्रसम्बन्धी प्रस्तुतीकरण गरिन्।
‘सिक्किम इन्स्पायर्स’ की विशेष सचिव तथा कार्यक्रम निर्देशक रोहिणी प्रधानले कार्यक्रमका परिणाम क्षेत्र, प्राथमिकताका क्षेत्र तथा वितरणसँग जोडिएका सूचकहरूबारे प्रस्तुतीकरण गरिन्। त्यसपछि विभिन्न विभागका सचिव तथा सम्बन्धित अधिकारीहरूले आफ्ना सुझाउ, विचार तथा इनपुट प्रस्तुत गर्दै छलफलमा सहभागिता जनाए।
बैठकको अन्त्यमा प्रो. महेन्द्र पी. लामाले ‘सिक्किम भिजन 2047’ तयार गर्न क्षेत्रगत दृष्टिकोणको प्रारूप प्रस्तुत गरे। प्रस्तावित दृष्टिकोण प्रमाणमा आधारित, यथार्थपरक, सहभागितामूलक तथा कार्यमुखी हुने र यसको सफल कार्यान्वयनका लागि विभिन्न विभागबीच प्रभावकारी समन्वय आवश्यक रहनेमा जोड दिइएको छ।
बैठकमा ‘सिक्किम भिजन 2047’ तयार गरी विभिन्न चरणमा बुझाउने समयतालिकासमेत तय गरिएको छ। सिक्किमको भविष्यका लागि तयार गरिने यो दस्तावेज २६ जनवरी, २०२७ सम्म सिक्किमका जनतालाई समर्पित गर्ने लक्ष्य राखिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल