
गुवाहाटी, १९ अगस्त (हि.स.)। असममा आएको बाढीबाट पाँच जिल्लाका १४ वटा राजस्व सर्कलअन्तर्गत ११५ गाउँका २३ हजार ८७६ नागरिक प्रभावित भएका छन्। बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै लामो समयसम्म बिर्सन नसकिने त्रासदी छोडेको छ। माथिल्लो असमका चार जिल्लाका प्रभावित बासिन्दाले जनधन गुमाए पनि आफ्नो जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास तीव्र बनाएका छन्।
हाल राज्यका सबै नदीहरू खतराको तहभन्दा तल बगिरहेका छन्। मंगलबार राति मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकमा पनि बाढी प्रभावितहरूका लागि आवश्यक कदम चाल्ने विषयमा निर्णय गरिएको छ।
असम राज्य आपदा प्रबन्धन प्राधिकरणले १८ अगस्तमा जारी गरेको तथ्यांकअनुसार, हालसम्म बाढीका कारण १०६ जनाको मृत्यु भइसकेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर, चराइदेव, जोरहाट र गोलाघाट जिल्लामा भएको छ। हाल ३ हजार २०६ हेक्टर कृषि भूमि बाढीको पानीमा डुबेको छ।
मंगलबारसम्म बाढीबाट प्रभावित पशुहरूको संख्या १४ हजार ६४५ पुगेको छ। राहत तथा उद्धार अभियानमा पुलिस र प्रशासनका टोलीहरू सक्रिय छन्। राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा १० वटा मेडिकल टोलीसमेत परिचालन गरेको छ।
बाढीका कारण सडक, पुललगायत अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। राज्य प्रशासनले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी