
गान्तोक, 20 अगस्त (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमको आयोजनामा ३५औँ नेपाली भाषा दिवस आज परिषद्को प्रेक्षागृहमा वरिष्ठ साहित्यकार तथा सिक्किम अकादेमीका पूर्व अध्यक्ष एसआर सुब्बाको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा विविध साहित्यिक, सांस्कृतिक तथा सम्मानमूलक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा असमबाट विशिष्ट अतिथिका रूपमा प्रबुद्ध साहित्यकार केबी नेपालीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्ष २०२६ को ‘कञ्चनजङ्घा अगम स्मृति पुरस्कार’ असम लामडिङ निवासी प्रबुद्ध साहित्यकार केबी नेपालीलाई प्रदान गरियो। नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उनले पुर्याउँदै आएको दीर्घकालीन र विशिष्ट योगदानको उच्च मूल्याङ्कनस्वरूप प्रदान गरिएको उक्त सम्मानमा नगद राशि एक लाख, सम्मानपत्र तथा अङ्गवस्त्रद्वारा सम्मानित गरिएको थियो। सम्मान ग्रहण गर्दै साहित्यकार केबी नेपालीले नेपाली साहित्य परिषद् सिक्किमप्रति हार्दिक आभार व्यक्त गरे। यस सम्मानले आफूलाई नेपाली भाषा-साहित्यको सेवामा अझ सक्रिय भएर लाग्न थप प्रेरणा प्राप्त भएको बताए। उनले नेपाली भाषी समुदाय एकजुट भई एकताको भावनासहित अघि बढ्नुपर्नेमा विशेष जोड दिए।प्रमुख अतिथि एसआर सुब्बाले आफ्नो सम्बोधनमा नेपाली भाषा आन्दोलनको लामो र गौरवपूर्ण इतिहासको स्मरण गर्दै नेपाली भाषाको संवैधानिक मान्यताका लागि योगदान पुर्याउने भाषा सङ्ग्रामीहरूलाई श्रद्धापूर्वक स्मरण गरे। उनले नेपाली साहित्य परिषद्ले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमको सफलताका लागि सबैलाई धन्यवाद व्यक्त गरे। अध्यक्षीय सम्बोधनमा नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलले नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गरिनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै २० अगस्तलाई सरकारी छुट्टी घोषणा गरी नेपाली भाषा दिवसलाई संस्थागत सम्मान प्रदान गरेकोमा सिक्किम सरकारप्रति परिषद्को कृतज्ञता व्यक्त गरे। उनले सिक्किमका मुख्यमन्त्रीको यथार्थवादी सोच र भाषाप्रतिको सम्मानको कदर गर्नुपर्ने बताए। अध्यक्ष ढुङ्गेलले नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्नुअघि विकसित भएको संगठित विचार, सामूहिक चेतना र एकताको भाव अहिले क्रमशः कमजोर हुँदै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराए। “विचारधारा भङ्गालिनु, गुटबन्दी हावी हुँदै जानु र खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तान्ने संस्कार विकास गर्नुपर्ने ,” भन्दै उनले नेपाली भाषा र साहित्यको हितमा व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर सामूहिक रूपमा अघि बढ्न सबैलाई आग्रह गरे। उनले नेपाली भाषा सम्पर्कको महत्वपूर्ण भाषा भएको उल्लेख गर्दै राज्यका साइनबोर्ड, शैक्षिक संस्थान तथा सरकारी गैरसरकारी कार्यालयहरूमा अङ्ग्रेजीसँगै नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। संवैधानिक मान्यता केवल गौरवको विषय नभई व्यवहारमा भाषाको प्रयोग, संरक्षण र विस्तारबाट मात्र सार्थक हुने उनको भनाइ थियो।
कार्यक्रममा सिक्किम विश्वविद्यालयको वर्ष २०२५ को अन्तिम सत्रान्त परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने मेधावी छात्रा रचना राईलाई ‘प्रेमलाल स्मृति शैक्षिक पुरस्कार’ द्वारा पुरस्कृत गरियो। वरिष्ठ सामाजिक अभियन्ता सागर पराजुलीलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरियो।
कार्यक्रममा साहित्यकार उषा शर्माले नेपाली भाषाको संवैधानिक मान्यता र वर्तमान अवस्थामाथि गहन वार्ता प्रस्तुत गरिन्। कार्यक्रममा साहित्यकार टीका ढुङ्गेलकृत ‘कलमका प्रतिबिम्बहरू’, डा. बीसी तामाङकृत ‘शरद रमाउने आँगन’ तथा कथाकार कमल सापकोटाकृत ‘परिवेशका चित्रणहरू’ लघुकथा सङ्ग्रहको विधिवत् लोकार्पणसमेत गरियो।
कार्यक्रममा २१२औँ भानुजयन्तीका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल